लोटस रिसर्च सेन्टरको २६ औं वार्षिक साधारणसभा सम्पन्न

बोधी संवाददाता

ललितपुर, भाद्र ९ । धेरै समयदेखि बुद्धधर्मको अध्ययन अनुसन्धान गर्नुका साथै हालै लुम्बिनी बौद्ध विश्वालयसँग सम्बन्धन गरी एप्लाइड बुद्धधर्ममा स्नातकोत्तर अध्यापन समेत थालनी गराएको लोटस रिसर्च सेन्टरको २६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मयेर चिरिबाबु महर्जनले बुद्धधर्ममा बज्राचार्य पूजा विधि अध्ययन समितिलाई आशाचन्द धाख्वा स्मृति पुरस्कार तथा चीरकाजी शाक्यलाई विपश्वी प्रोत्साहन पुरस्कार प्रदान गर्नुभयो ।

पहिलो पुरस्कार स्थानीय तहमा वज्रयान अन्तर्गत बुद्धधर्म र रितिरिवाजको संरक्षण गरेबापत रु ५० हजार सहित तथा दोश्रो पुरस्कार यस सेन्टर द्वारा सञ्चालित लोटस एकेडेमिक कलेजबाट स्नातकोत्तरमा सबैभन्दा बढी अंक ल्याई उतीर्ण हुनुभएबापत रु १५ हजार सहित प्रदान गरिएको हो ।

कार्यक्रमका प्रा. डा शंकर थापाले आफुले संकलन गर्नुभएको हस्तलिखित एैतिहासिक बौद्ध ग्रन्थहरुको डिजिटल प्रति सेन्टरलाई प्रदान गर्नुभयो ।

साथै प्रमुख अतिथि मेयरले कलेजको विद्यार्थीसमुहको संयोजनमा प्रकाशित जर्नल अफ बुद्धिस्ट स्टडिज ग्रुपको विमोचन पनि गर्नभयो ।

यही अवसरमा सेन्टरका अध्यक्ष एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. भद्ररत्न बज्राचार्यले सेन्टरले गत २५ वर्षसम्म बुद्धधर्मको विकास एवं बौद्ध दर्शनको अध्ययन अनुसन्धानमा गरेको योगदानको चर्चा गर्नुभयो । साथै उहाँले अब बुद्धधर्मको प्राज्ञिक अध्ययनको महत्वका बारेमा पनि बताउनुभयो ।

पूर्व मेयर बुद्धिराज वज्राचार्यले हाल लोटस एकेडेमिक कलेज सञ्चलनमा आइरहेको ख्वाय्बहिलमा कलेज सञ्चालनार्थ भवन बनाउन सहयोग जुटाउन सकिने बताउनुभयो ।

कलेजको विद्यार्थी अध्ययन समुहका अध्यक्ष नरेश वीर शाक्यले कलेजले उत्पादन गरेका विद्यार्थीहरुले विभिन्न किसिमबाट बुद्धधर्मको अध्ययन अध्यापनमा सहयोग गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बौद्ध संस्कृति अन्तर्गतको विभिन्न देवताहरुको स्तुतिका रुपमा मञ्चन गरिने चर्चा नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।

साथै सेन्टरका तर्फबाट प्रगति प्रतिवेदन र भावी कार्यक्रमहरुको प्रस्तुती गरी सहभागीबाट छलफल गराई अनुमोदन गरिएको थियो । त्यस्तै आर्थिक प्रतिवेदन र अनुमानित बजेट पनि प्रस्तुत गरी छलफल पश्चात अनुमोदन गरिएको थियो ।

फोटो : स्मृति श्रेष्ठ

3 months ago/Saturday, August 26th, 2017 /