भक्तपुरमा बहापूजा सम्पन्न

बोधी संवाददाता
भक्तपुर, भाद्र ३ । विशेष गरी ललितपुरका करीब १३०० बौद्ध धर्मावलम्बीहरुले आज भक्तपुरका विभिन्न मूल बहाल र बहिलहरुको धार्मिक प्रदक्षिणा सम्पन्न गरे ।

 

ललितपुर रुद्रवर्ण महाविहारस्थित तःगो चिभाः तुतः खलः ओकुबहालको आयोजनामा भएको उक्त बहापूजामा भक्तजनहरु लामबद्ध भएर यहाँका विभिन्न १७वटा प्राचीन बौद्ध बहाल र बहिलहरुका गई त्यहाँ स्थापित शाक्यमुनि बुद्ध र दीपंकर बुद्धहरुमा पूजा आराधना गरेका थिए । यसरी जानेहरुले चामल, बिस्कुट आदि खानेकुरा, धुप, मिठाइका साथै बौद्ध स्तोत्त पुस्तिकाहरु समेत चढाउने चलन छ ।

 

तीर्थयात्रुहरु यहाँ क्रमशः जयकीर्ति महाविहार थथुबहि, जेष्ठवर्ण महाविहार तच्चाक्वने, जेतवर्ण महाविहार तेखाचो, केशेश्वर महाविहार इताछेँ, चतुरवर्ण महाविहार साकोथा, मञ्जुवर्ण महाविहार क्वाठण्डों, प्रशन्नशील महाविहार क्वाठण्डों, आदिपद्म महाविहार तौलाछेँं, इन्दुवर्ण महाविहार इनाचो, मुनिविहार इनाचो, मंगल धर्मदिप महाविहार झौरबहि, सुवर्ण महाविहार सुकुध्वाखा, अखण्डशिल महाविहार बोलाछेँ, बौद्ध समकृत महाविहार इताछेँमा प्रदक्षिणा गरेका थिए ।

 

आजकै दिनमा भक्तपुरमा पन्जरां अर्थात् पञ्चदान पनि दिने भएकोले विभिन्न बहालहरुबाट त्यहाँ अवस्थित दीपंकरका मूर्तिहरु त्यहाँको दरवार क्षेत्रमा लगेर सामुहिक पूजा गराउने पनि चलन छ ।
यसबाहेक यहाँका बौद्ध समुदायका शाक्य र वज्राचार्य समुदायका पुरुषहरुले विभिन्न घरमा गएर दान लिने गरिन्छ । त्यस्तै बौद्धहरु आफ्नो घरमा दानशाला बनाएर शाक्य र वज्राचार्य समुदायका पुरुषहरुलाई चामल र खाद्यान्न लगायतका बस्तुहरु दान दिने पनि गर्दछन् ।

1 month ago/Saturday, August 19th, 2017 /