पाटनमा बौद्ध परम्परा अनुसार मतयाः

बोधी संवाददाता
ललितपुर, साउन २५ । यस जिल्लाका सम्पूर्ण बौद्धहरू आज दिनभरी यहाँका बौद्ध बिहार, बहाल, बहिलहरुमा श्रद्धा, आराधनाका साथ हास्यव्यंग्यले भरिएका झाँकीहरु सहित परिक्रमा गरे ।

 

यस यात्रामा प्रायःले हातमा मैनबत्ती लिएर प्रदक्षिणा गर्ने भएकोले यसलाई मतयाः वा दीपयात्रा पनि भनिन्छ । मैनबत्ति बालेर जानुको अर्थ भनेको दिवंगत भएर गएका परिवारका सदस्यहरूले सही बाटोको पहिचान गर्न सकुन् वा बाटोमा अडचन नआउन् भनेर हो भन्ने विश्वास गरिन्छ ।
सहभागीहरु गुँला बाजा र दमः खिं बजाउँदै, कोही न्यकू  (सिङ्ग) फुक्दै, कोही लोक संगीत धुन बजाउँदै जाने गर्छन् । यसमध्ये कोही कोही बाटोमा पर्ने ती बौद्ध मन्दिर बहाल, चैत्यहरुमा पिठो, गहुँ, चामल, फलफूल, पैसा, अक्षता चढाउँछन् भने कोही कोही परम्रागत रुपमा गाइने श्लोकहरुको पुस्तिका बनाएर पनि चढाउँछन् ।
ती मध्ये सिङ्ग बजाएर परिक्रमा गर्नेहरुले यसरी उननीहरुले यहाँको हालखबर आफ्ना दिवंगत पुर्खाहरुकहाँ पठाउने र यसो गर्दा उनीहरु राम्रो ठाउँमा पुग्ने जनविश्वास रहेको छ ।

 

बौद्ध किंवदन्तीअनुसार कुनै एक समय श्रावण शुक्लको दिन सिद्धार्थ ध्यानमा बसिरहनुभएको बेला राक्षस, हिंस्रक पशु आदिले होहल्ला गर्दै बुद्धको ध्यान गर्ने कोशिस गरेका थिए तर उनीहरु आखिरमा असफल भए र सिद्धार्थलाई बुद्धत्व प्राप्ति भयो । ती मारहरु आफुले गरेको गल्तीको पश्चाताप गरेर बुद्धमार्गमा लागेको घटनालाई नाटकीय ढंगले स्मरण गराउन मतयाः मनाउने गरेको मानिन्छ ।

 

यसको अघिल्लो दिन यिनै मारहरुको स्मरण गर्दै सापारु वा गाईजात्रको दिनमा विभिन्न डरलाग्दा भेषभुषमा चक्काहरु गुडाउँदै डरलाग्दो आवाज निकालेर नगर परिक्रमा गर्ने चलन पनि यहाँ रहेको छ ।

 

यसका साथै नेपालका जीवित देवी कुमारीले आजै विभिन्न बहाल बहिलहरुमा गएर त्यहाँका बौद्ध देवदेवीहरुको प्रतिमा अवलोकन गर्नुभयो ।

फोटो : सुरजवीर वज्राचार्य

2 months ago/Wednesday, August 9th, 2017 /