यल पन्जरां सम्पन्न

बोधी संवाददाता
ललितपुर, साउन १६ । आज ललितपुरका बौद्धहरु, विशेष गरी शाक्य र वज्राचार्यहरुले विभिन्न बस्तुहरु दान दिएर तथा लिएर यल पन्जरां महादान पर्व मनाए ।

 

अहिले चलिरहेको महिना गुंलालाई नै बौद्धहरुले विशेष महिनाको रुपमा विभिन्न पुजाआजा र प्रार्थना गरेर मनाउँछन् भने त्यसमा पनि आजको दिनलाई ललितपुरमा विशेष दिनको रुपमा मनाइन्छ । यस दिन यहाँका सबै शाक्य वज्राचार्यहरुले आफ्नो बहाल, बहिल वा घरमा आएकालाई धान, चामल, गहुँ, मासको दाल, नुन लगायत अन्य मिठाइहरु र खीर दान गर्ने गर्छन् । त्यस्तै उनीहरु पनि आफै अन्य वज्राचार्य शाक्यहरुको घरमा गएर दान लिने पनि गरिन्छ ।

 

यसबाहेक यहाँको हःखा आदि ठाउँमा त्यहाँको स्थानीय संघसंस्थाले सामुहिक दान कार्यक्रम आयोजना गरेका थिए ।

पाटनका शान्तराज शाक्यले यो पर्वको मूल नाम नै पन्जरांस्तमि र पंजरां भएकोमा हाल आएर कसैले नबुझी पंचदान भन्ने गरेको देखिएकोले त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

 

बौद्धहरुले आफ्नो जीवन सफल पार्नका लागि अवलम्बन गर्ने दश पारमिता मध्ये दान पारमितालाई पहिलो र महत्व पारमिताको रुपमा लिन्छन् र दान लिनु र दिनुलाई पवित्र कार्यको रुपमा सम्मान गर्छन्  ।

फोटो शान्तराज शाक्य

2 months ago/Monday, July 31st, 2017 /