नेपालको प्रचाीन बुद्धधर्म सम्बन्धी पुस्तक विमोचन

बोधी संवाददाता

काठमाडौं, असार २५ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान वज्राचार्यले आज स्व. पं. बद्री रत्न वज्राचार्यद्वारा लिखित पुस्तक “नेपाःया प्राचीन बुद्धधर्म” नामक पुस्तकको लोकार्पण गर्नुभयो ।

 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण वज्राचार्य समुदायलाई पुस्तौंदेखि गर्दे आउनुभएको कर्मकाण्डमा मात्र आफुलाई सीमित नगरी बुद्धधर्म दर्शनको अध्ययन गरी प्राज्ञिक अध्ययनमा पनि पारंगत बनाउन आग्रह गर्नुभयो ।

 

“पहिले नेपालमा वज्रयान बुद्धधर्मको ज्ञान लुप्त अवस्थामा थियो । अहिले विश्वविद्यालयमा यसको जो कोहीले पनि प्राज्ञिक अध्ययन गर्न पाउँछ । यस्तो अवस्थामा वज्राचार्यहरुले अध्ययनमा पछाडि पर्यो भने अरुहरुको अगाडि झुक्नुपर्ने हुन्छ,” उहाँले भन्नु भयो ।

 

साथै उहाँले नेपालमा वजं्रयान बुद्धधर्मको सैद्धान्तिक पक्षको बारेमा अध्ययन नै नभइरहेको अवस्थामा वज्रयान अध्ययन मण्डल स्थापना गरी युवापुस्तालाई यसतर्फ जागृत गराउनुभएको ऐतिहासिक योगदानको पनि स्मरण गर्नुभयो ।

 

पुस्तकका सम्पादक अष्टमुनि वज्राचार्यले बद्री गुरुजुले १२ वर्ष अगाडि लेखेर नेपाल प्रज्ञा प्रतिष्ठानमा समेत प्रकाशनको लागि पठाएको उक्त पुस्तक पाण्डुलिपि हराएर समयमा प्रकाशन हुन नसकेको र पहिले अंग्रेजीमा समेत प्रकाशित भइसकेकोमा हाल नेपालकै बौद्ध समुदायका लागि उक्त पुस्तक नेपालभाषामा उपलब्ध हुनु सन्तोषजनक कुरा भएको बताउनुभयो ।

पुस्तकका प्रकाशक शीला साय्मीले नेपालकै गौरवको रुपमा रहेको नेपालको प्राचीन बुद्धधर्म सम्बन्धी प्रकाशनको अभिभारा लिन पाएर गौरवान्वीत भएको बताउनुभयो ।

गुरु पुर्णिमाको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरुले स्वर्गीय गुरु वज्राचार्यको तस्वीरमा फूलको गुच्छासहित श्रद्धान्जलि पनि अर्पण गरेका थिए ।

3 months ago/Sunday, July 9th, 2017 /