आषाढ पूर्णिमा मनाइयो

 

बोधी संवाददाता
काठमाडौं, असार २५ । विश्व भरिका बौद्धहरुले आज आषाढ पुर्णिमाको दिनलाई विशेष पवित्र र महत्वपूर्ण दिनका रुपमा मानउने गर्दछन् ।

आजको दिनदेखि बुद्धले आफुले प्राप्त गरेको ज्ञान बाँड्ने गरेकोले आजको दिनलाई धर्मचक्र प्रवर्तन दिवसको रुपमा पनि बौद्धहरुले मनाउने गर्दछन् । आफुले प्राप्त गरेको ज्ञान सबैले बुझ्ने नसकिने भन्ने लागेर उहाँले पहिले आफुलाई छोडेर जाने पञ्चवग्गीय भिक्षुहरुलाई इसिपत्तनमा खोजेर उपदेश दिनुभएको थियो । आजैको दिनमा बुद्धले आफ्नो पञ्चवग्गिय भिक्षुहरुलाई पहिलो धर्म देशना गर्नुभएको थियो जसलाई धम्मचक्कपवत्तन सूत्त भन्ने गरिन्छ । आजैको दिन देखि संसारले बुद्धलाई गुरुको रुपमा प्राप्त गरेकोले आजको दिनलाई गुरु पुर्णिमा पनि भनिन्छ ।

यस्तै किसिमले अब मनसूनी वर्षाको मौसम शुरु हुने भएकोले आजको दिनदेखि यात्रा कठिन हुने र भिक्षुहरुको आवत जावतले धान बाली समेत नष्ट हुन सक्ने भएकोले आजदेखि भिक्षुहरु धेरै यात्रा नगरी एकै ठाउँमा तीन महिना बसेर ध्यान भावना र अध्ययनमा समय व्यतित गर्नुपर्ने नियम बनाइएको छ ।

बौद्धहरु आजको दिनलाई श्रामणेर तथा भिक्षुहरुका साथै उपासक उपासिकाहरुले उपोसथ वा अष्टशिल पालना गर्ने उत्तम दिनको रुपमा लिन्छ । त्यस्तै आजै विपस्सना ध्यानभावना बस्ने वा आजदेखि ध्यानभावना शुरु गर्ने पनि गरिन्छ ।

आजको दिनमा धम्मवती गुरुमाको जन्म दिन परेकोले आजै काठमाडौंस्थित धर्मकीर्ति विहारमा विशेष पुजाआजा सहित गुरु पुर्णिमा पनि मनाइयो । त्यस्तै अाज भक्तपुरमा बुद्धमुर्ति सहित शाेभायात्राकाे अायाेजना पनि गरिएकाे थियाे ।
यसबाहेक आजैको दिनलाई जैन धर्मावलम्बीहरुले चौमास भनी चार महिनाको वर्षावासको प्रारम्भ गर्ने दिनको रुपमा लिन्छन् ।

4 months ago/Sunday, July 9th, 2017 /