सरस्वती माविमा बुद्ध शिक्षा प्रशिक्षण प्रारम्भ

बोधी संवाददाता
भक्तपुर, जेठ ५ । सुडाल गाउँमा स्थित ल्हासापाको सरस्वतीस्थानमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा आजदेखि आधारभूत बौद्ध शिक्षा प्रशिक्षण कार्यक्रम शुरु भयो ।

 

विद्यालयका प्रधानाध्यापक इन्द्रमणी गिरीले बुद्धधर्मले मानिसको आचरणमा शुद्धता ल्याउने र मानिसलाई नीतिवान् बनाउने भएकोले बुद्धधर्मका राम्रा कुराहरु बालबालिकालाई सिकाएर उनीलाई नेपालमा जन्मेका महामानव बुद्धसँग परिचित गराउनलाई सो कक्षा सञ्चालन गरेको बताउनुभयो ।

 

कार्यक्रमकी संयोजक राज्यशोभा गुरुमांले हरेक हप्ता विभिन्न स्थानका बुद्धधर्मका सकेसम्म स्नातकोत्तर विद्यार्थीहरुलाई आमन्त्रण गरेर उनीहरुबाट हरेक हप्ता दुइघण्टाको कक्षा सञ्चालन गराउने योजना रहेको बताउनुभयो । साथै उहाँले कक्षा अन्तरक्रियात्मक हुने तथा कक्षालाई धेरै बोझिलो नबनाउन चाहेको पनि बताउनुभयो ।

 

प्रशिक्षणको पहिलो दिनमा कक्षा ५ र ६ का ३४ जना विद्यार्थीलाई शाक्य सुरेनले बुद्धधर्मको महत्वको बारे र राजेन मानन्धरले बुद्ध जीवनीको बारेमा प्रशिक्षण दिनुभयो ।

5 months ago/Friday, May 19th, 2017 /