पर्यटक बढाउन ‘बुद्ध सर्किट’ अपरिहार्य

भैरहवा, वैशाख २८ गते ।  उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजन्मस्थल लुम्बिनीसहित अन्य बौद्ध स्थलको एकीकृत पर्यटकीय विकासका लागि बुद्ध सर्किट अनिवार्य भएको बताउनुभएको छ ।

 
उपराष्ट्रपति पुनले बुद्ध र बुद्ध जीवनसँग जोडिएका ठाउँहरू रामग्राम, गोटिहवा, तिलौराकोट, देवदहलगायतलाई एउटै सर्किटमा जोडेर ‘बुद्ध सर्किट’ निर्माण भए लुम्बिनीको विकासले गति लिने र भक्तजन तथा पर्यटकलाई व्यवस्थितरूपमा सेवा सुविधा  पु-याउन मद्दत गर्ने बताउनुभयो ।

 

उहाँले लुम्बिनीको विकासको लागि विकास कोष र सरकारले थप कार्ययोजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।  उहाँले बुद्धको जन्मस्थलबारे फैलाइएको भ्रम चिर्न जरुरी रहेकोसमेत बताउनुभयो ।  नेपालको गौरव र पर्यटकको अपार सम्भावना रहेको लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन शान्तिपूर्णरूपले  बस्न सक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको विकास सहज हुने उहाँको धारणा छ ।

२५६१औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा उहाँले बुद्ध एक महान् दार्शनिक भएको बताउँदै विश्वका शान्तिकामीहरूले बुद्धको शान्तिलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।  “विश्वका बौद्ध मार्गी र बौद्ध दर्शनसँग सम्बन्ध राख्नेले मात्रै नभई विश्वका सबै धर्मावलम्बीहरूले बुद्ध दर्शन अनुसरण गर्न जरुरी छ”–उपराष्ट्रपति पुनले भन्नुभयो ।

कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्सकुलले लुम्बिनीको विकासमा थाइल्याण्डको साथ रहने बताउनुभयो ।  रूपन्देही क्षेत्र नं. ७ का सांसद कमलेश पुरी गोश्वामी, पर्यटन सचिव शंकर अधिकारी, कोषका उपाध्यक्ष भिक्षु निग्रोध, कोषाध्यक्ष सुरेन्द्रद्रमुनी शाक्यले अब लुम्बिनीको बृहत्तर विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनीको प्रबद्र्धन तथा सम्बद्र्धनमा विशेष भूमिका निर्वाह गरेको भन्दै लुम्बिनी विकास कोषका सद्भावना दूत पर्यटनविद् विक्रम पाण्डे, लुम्बिनी कासाई होटलका अध्यक्ष एवं जापानी नागरिक नोर्बु तोकुसिन कासाई, बुद्ध ईज बर्न इन नेपाल चलचित्रका निर्देशक रमित ढुंगाना, पुरातत्वविद् प्राध्यापक कलिंगमलगायतलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा सामुदायिक विद्यालयका एक सय जना छात्रछात्रालाई जनही पाँच हजार रुपियाँसहित मायादेवी छात्रवृत्ति प्रदान गरिएको थियो ।  कार्यक्रममा लुम्बिनी विकास कोषमा लामो समयसम्म कार्यरत कर्मचारीहरूलाई उत्कृष्ट सेवा पुरस्कार दिइएको थियो ।  कार्यक्रमअघि बुद्धजन्मस्थल लुम्बिनी मायादेवी मन्दिरबाट झाँकीसहितको शान्ति ¥यालीले लुम्बिनीको विभिन्न स्थल परिक्रमा गरी कार्यक्रम स्थल आइपुगेको थियो ।

बुद्धजयन्तीको दिन मायादेवी मन्दिर अवलोकन गर्ने सर्वसाधारणहरूको बिहानैदेखि भीड थियो ।  मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्डलगायत लुम्बिनीका अन्य विभिन्न देशी तथा विदेशी विहारहरूमा बिहानैदेखि सर्वसाधारणहरूको ठूलो सङ्ख्यामा सहभागिता थियो ।

बिगतमा जस्तै यस वर्ष पनि लुम्बिनीस्थित होटल कासाईले लुम्बिनीमा आउने आगन्तुकहरूलाई निःशुल्क भोजन गराएको छ ।  विगत ११ वर्षदेखि निरन्तर निःशुल्क भोजन गराउँदै आएको होटलले यस वर्ष पनि पाँच हजार जनालाई निःशुल्क भोजन गराएको होटलका महाप्रबन्धक विनेश मानन्धरले बताउनुभयो ।

साभार गाेरखापत्र दैनिक

6 months ago/Thursday, May 11th, 2017 /