आन्दकुटी विहारमा बुद्धजयन्ती मनाइयो

बोधी संवाददाता
काठमाडौं, बैशाख २७ । बुद्धजयन्ती मूलसमारोह समितिले आज आनन्दकुटी विहार स्वयम्भुमा आज एक सार्वजनिक बौद्धसभाको आयोजना गर्यो ।

 

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री नविन्द्र राज जोशीले बुद्ध नेपालमा जन्मनु भनेको नेपालकै गौरव भएको तथा बुद्धको जन्मदिवसलाई सबैले भव्यताका साथ मान्नुपर्नेमा पनि जोड दिनुभयो ।

 

उहाँले नेपालका सबै धर्म, भाषा जाति एकै ठाउँमा बसेर एकजुट भई देशको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

 

साथै उनले नेपालका सबै सम्पदा जीवित सम्पदा भएजस्तै स्वयम्भू पनि एक जीवित सम्पदा भएको र यसको संरक्षण सबै मिलेर गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरले बुद्धको जन्म लुम्बिनीमा भएको भनिन्छ तर सरकारले यसको संरक्षण र प्रचारप्रसारमा राम्रोसँग ध्यान नदिएकोमा सरकारको ध्यानाकर्षण गर्नुभयो । र साथै लुम्बिनी जस्तै कपिलबस्तु र देवदहको पनि आफ्नै पुरातात्विक तथा धार्मिक महत्व भएकोले यसको प्रचारप्रसार तथा संरक्षण गर्न पनि ढिलाई भइरहेको बताउनुभयो ।

 

यसका साथै हालसम्मको राष्ट्रिय जनगणनाले नेपालका बौद्धहरुको सही गणना नगरेको बताउँदै विश्वका सबै बौद्धहरुको गौरव भएको नेपालमा बौद्धहरुको समेत नेपालमा बौद्धहरु कति छन् भन्ने सत्यतथ्य बाहिर निकाल्नका लागि पनि सरकारसँग आग्रह गर्नुभयो ।
बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष धर्ममूर्ति महास्थविरले जसले जहाँ बसेर भएपनि, जसरी भएपनि बुद्धजयन्ती मनाएर बुद्धको शिक्षालाई आफ्नो जीवनमा उतार्ने कोशिस गर्नुपर्ने बताउनुभयो ।

 

“कसैले दान प्रदानको कार्यक्रममा सरिक भएर, कसैले शील आचरण राम्रोसँग पालना गरेर वा कसैले ज्ञान र प्रज्ञालाई स्वहित तथा परहितको लागि उपयोग गरेर बहुजन हिताय बहुजन सुखायको भावना जागृत गराई बुद्धजयन्ती मनाउँछन् । हामीले केही हदसम्म शान्तिको अनुभू ितगर्न सके बुद्धजयन्ती मनाएको ठहरिन्छ,” उहाँले भन्नुभयाे ।

 

यसअघि विहारमा सबै श्रद्धालुहरुलाई श्रीलंकाबाट उपहार स्वरुप ल्याइएको बुद्धको अस्थिधातुको दर्शन खुला गरिएको थियो ।

 

आज आनन्दकुटी विहारमा स्वयम्भू दर्शनका लागि आएका सबै श्रद्धालुलाई निशुल्क खीर भोजनको व्यवस्था गरिएको थियो ।

5 months ago/Wednesday, May 10th, 2017 /