बौद्धधर्म विषयक लेखन र शोधमा जीवन अर्पण गर्ने भिक्षु अमृतानन्द

विश्व शान्तिको निम्ति प्रतिबद्ध भएर नेपालको इज्जत राख्ने विभूतिको यस हिमवत् क्षेत्रमा कमी छैन भन्ने बेहोरा एउटा भिक्षुले पनि प्रमाणित गरेर देखाई दिए । सत्यं, शिवं, सुन्दरम्को सिद्धान्तमा बाँचेको हाम्रो संस्कृति बुद्धको विश्वशान्ति र भातृत्वको देश हो भन्ने वोध एक जना भिक्षुमार्फत पनि देखियो । अथवा भनौं मौलिकताको निम्ति कटिबद्ध भएर सामाजिक सेवा र धार्मिक उत्थानमा जीवन बिताउने विभूति डा.भिक्षु अमृतानन्दले नेपाल र नेपालीको नाउँ देशदेशान्तरमा पुर्‍याई दिए ।
अमृतानन्दको जन्म १९७५ सालमा पाल्पा तानसेनमा भयो । उनले श्रीलङ्काबाट साहित्याचार्य र साहित्य चक्रवर्तीको शैक्षिक उपाधि हासिल गरे । अनि उनले बौद्धधर्मको चिन्तन, मनन् र प्रचारप्रसारमा आफूलाई समाहित गरे । साथै बौद्धधर्म विषयक लेखन र शोधमा पनि उनले आफ्नो जीवन अर्पण गरे ।
अमृतानन्दले बौर्द्धधर्मसम्बन्धी पुस्तकहरू नेपाली भाषामा झन्नै चार दर्जन, नेवारीमा झन्नै दुई दर्जन र अङ्ग्रेजीमा तीन वटा लेखे । उनी बौद्धधर्मसम्बन्धी पुस्तकहरू लेखेर नै जीवन बिताउने इच्छा राख्थे । उनले बौद्धधर्मसम्बन्धी पुस्तकहरू लेखेर गरेको प्रचारलाई नै पनि आफ्नो जीवनको महत्त्वपूर्ण कार्य ठाने ।
अमृतानन्दले नेपालका विभिन्न जिल्लाहरूको साथै विश्वको प्रायः सम्पूर्ण मुलुकहरूको भ्रमण गरे । उनी जहाँजहाँ गए त्यहाँत्यहाँ बौर्द्धधर्मको सन्देश छरे । त्यसैले उनी नेपालमा मात्र नभएर विश्वमै प्रसिद्ध भए । विश्वका जुनसुकै भूभागका बौद्धधर्माबलम्बीले उनको पनि अर्चना गरे । धेरैले उनको महानताको वर्णन गरेर ग्रन्थ लेखे । उनको सादा जीवन र उच्च विचारबाट विश्वभरिका बौर्द्धधर्मका गुरुहरु परिचित भए ।
अमृतानन्द सामाजिक जागरणका नम्बरी सुन थिए । उनैले आनन्दकुटी विद्यापीठ र आनन्दकुटी विहार गुठीको स्थापना गरे । उनले अखिल नेपाल भिक्षुसङ्घको पनि स्थापना गरे । साथै उनी बौद्धधर्मोदय समाज नेपालका अध्यक्ष पनि भए । उनलाई राज्यद्वारा लुम्बिनी विकास समितिको कार्यकारी सदस्य पनि बनाइएको थियो । उनैले नै आनन्दकुटी विद्यापीठ, आनन्दकुटी साइन्स कलेज तथा आनन्दकुटी विहार गुठीको स्थापना गरेका थिए । थाइल्यान्डमा मुख्य कार्यालय भएको विश्व भातृ मण्डलका उनी उपाध्यक्ष भएका थिए ।
अमृतानन्दले आफ्नो जीवनमा धेरै औसी र पूर्र्णो भेगे । उनले आफ्नो जीवनमा धेरै कष्टका दिनहरु पनि भोगे । उनका जीवनमा जति नै दुःखका दिनहरू आए तापनि बुद्धका उपदेशहरूको अनुसरण गरेर उनी सुमार्गमा लागि रहे । त्यसैले आफ्नो गन्तव्यमा उनले कहिले दुःखका दिनहरू महसूस गरेनन् ।
अमृतानन्द बौर्द्धधर्ममा नै बाँचे र यसैसँग लहसिएर हाँसे । खास गरेर उनी त्यस बेला अति गदगद भए जुन बेला नेपालमा चतुर्थ विश्व बौद्धसम्मेलन भएको थियो । उनले २०१३ सालमा भएको सो सम्मेलनको अवसरलाई गौरव र सुखको दिन माने । यस सम्मेलनमा विश्वका बत्तीस मुलुकले भाग लिएको सन्दर्भ उनको जीवनको चीरस्मरणीय सुखद क्षण बन्यो । उनका भनाईमा त्यस सम्मेलनमा ”नेपालबारे राम्ररी थाहा नपाउने मुलुकहरूले पनि नेपाल र नेपाली चिन्ने मौका पाएका थिए ।”
बौद्धधर्म विषयक लेखन र शोधमा पनि उनले आफ्नो जीवन अर्पण गरे
अमृतानन्द राष्ट्रवादी थिए । उनी जति बोल्थे राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति नै जनआहवान पनि गर्थे । उनी नेपालबाट बाहिर लाग्दा पनि जुन देशको माटो टेक्थे त्यति बेला उनी सर्वप्रथम नेपाल नै सम्झन्थे । उनी बाँचुन्जेल उनको मनमा नेपाल र बौद्धधर्म मात्रै गाँसिएको थियो । उनी नेपालमा बुद्धधर्मसम्बन्धी प्रामाणिक व्यक्तित्व पनि थिए । बौद्धधर्ममा समर्पित भएवापत १९९३ सालमा राणाले उनलाई भोजपुरको जेलमा पनि कोचे । त्यति बेला राणा प्रधानमन्त्री जुद्धशमशेरले धेरै बौद्ध भिक्षुहरू देश निकाला गरेका थिए । त्यही सिलसिलामा अमृतानन्दलाई पनि देशबाट निकालिएको थियो । पछि राणा प्रधानमन्त्री पद्मशमशेरले निष्काशित बौद्ध भिक्षुहरूलाई देश भित्र पस्ने अनुमति दिँदा अमृतानन्द पनि नेपाल पसेका थिए ।
जुद्धशमशेरद्वारा मुलुकबाट निष्काशित बौद्ध भिक्षुहरूले मिलेर त्यसै घडी भारतमा धम्मोदय सभा नामक संस्था स्थापना गरेका थिए । त्यसैले त्यस बेला मात्रृभूमिबाट लखेटिएको बेहोरालाई पनि अमृतानन्दले उपलव्धी मानेका थिए । तर आफू लगायत अरु भिक्षुहरु नेपालबाट अनायसै लखेटिनु परेके पिंडा अमृतानन्दले कहिले भुलेनन् पनि । यसबारेको घटना पनि उनले लेखे र बोले । तर यसबाट उनले आफू तत्वज्ञानी भएको महसुस पनि गरे ।
अमृतानन्दको सुखद क्षण त्यस बखत देखयो जुन दिन अर्थात् २०१० साल वैशाख पूर्णिमामा राजा त्रिभुवनबाट आनन्दकुटी बिहारमा आयोजित पब्लिक मिटिङको अध्यक्षता गरे र राजा महेन्द्रबाट २०१३ सालमा लुम्बिनी भ्रमण गरेर स्तम्भ स्थापना गरे ।
अमृतानन्द आफू राजनीतिज्ञ नभएको बेहोरा बोल्थे । तर बोल्दाबोल्दै राजनीतिक तर्क विर्साई सक्थे । उनी साम्यवाद नेपालमा हुनुहुन्न भन्थे अनि संसदीय प्रजातन्त्रको पनि वकालत गर्थे । उनी राजा महेन्द्रलाई मन पराउँथे । तर उनी राजाका कारिन्दाबाट पिंडित थिए । उनी भन्थे ”स्पष्ट रूपमा, राजनीति गर्नेका हातमा व्यवस्था परेन । राजाको मनोभावनाअनुरूप कार्यकर्ताले काम नगरेका हुँदा पञ्चायती व्यवस्थामा जनताको बुद्धिविकास हुन नसकेको र बुद्धिविकासको स्वतन्त्रतामा धमिलोपन आएको उनको टिप्पणी हुन्थ्यो ।
अमृतानन्दले भिक्षु हुनुभन्दा अगाडि विवाह गरे । अनि उनी भिक्षु भएपछि उनकी पत्नी सङ्घमीता पनि भिक्षुणी अथवा अनागारिका भइन् । उनीहरु भिक्षु हुनुभन्दा अगाडि नै जन्मेकी एउटी छोरी विमला बज्राचार्य अझै आनन्दकुटी विद्यापीठमा अध्यक्ष छिन् ।
अमृतानन्दले बौद्ध साहित्यको अनुसन्धान गरेर जीवन बिताउने इच्छा राखेका थिए । उनले २०४० सालमा नरेन्द्रराज प्रसाईका डायरीमा लेखेका थिए ”पुस्तक लेख्दालेख्दै म टेबुलमा नै बसेर मर्न पाउँ ।” वास्तवमा विधिको विधान त्यसरी नै रचियो । उनी पढिरहेका बेला नै स्वर्गीय भए । भनौं २०४७ साल भदौ ५ गते बिहान उनले पढिरहेकै आसनमा आफुलाई विर्सजन गरे ।
साभार नइ प्रकाशन
1 week ago/Wednesday, February 14th, 2018/