लुम्बिनीको सत्यतथ्य

थुदेन लामा 

भगवान बुद्ध लुम्बिनीमा जन्मनुभएको र कपिलवस्तु नेपालकै कपिलवस्तु भएको पुरातात्त्विक प्रमाणले नै सिद्ध गरिसकेकोले यसमा विवाद गर्नु आवश्यक देखिन्न। भारतको बोधगयामा नेपाली राजकुमार  सिद्धार्थले बोधिज्ञान (बुद्धत्व) प्राप्त गरेका हुन्। त्यसकारण लुम्बिनी (जन्मस्थल नेपाल), बोधगया (बोधिज्ञान प्राप्ति–भारत), वाराणसी (धर्मचक्र प्रवर्द्धन–भारत) र कुशिनगर (महापरिनिर्वाण–भारत) लाई हिजोआज बौद्ध चारधाम भन्ने गरिन्छ। जहाँसम्म कोरिया, जापान, चीन आदि देशहरूमा भ्रम रहेको भन्ने कुरा छ, पुरानो शव्दावली र वर्तमान शव्दावलीको अर्थ बाझिन पुग्दा सर्वसाधारणमा केही भ्रम उत्पन्न हुनसक्छ। बुद्धकालमा हिन्द महासागर क्षेत्रलाई ‘जम्बुद्वीप’ भन्ने गरिएको थियो। त्यसपछि ‘भारत वर्ष’ पनि भन्ने गरियो। त्यो कुनै सिङ्गो राष्ट्र, राज्य वा देशको नाम थिएन। मध्यपूर्व एसियालाई ‘अरबजगत’ भनेजस्तै हो। भारत वर्षभित्र ऐतिहासिक कालदेखि हजारौं राज्य र रजौटाहरू अस्तित्वमा थिए। तिनीहरूबीच परस्पर भीषण युद्धहरू पनि चल्ने गरेको थियो। विन्दुसार, समुन्द्र गुप्त, चन्द्र गुप्त आदिले भारतको एकीकरण गर्ने अभियान चलाएको भए तापनि पूर्णरूपले सफल भएनन्।

 
सम्राट अशोकले मात्र भारतको एकीकरण गरे। तर सेनानी पुष्प मित्रले अशोकका आठौं पुस्तामा विद्रोह गरेपछि साम्राज्य छिन्नभिन्न भयो र ग्रीक युनानीहरूको सैनिक दबाबमा भारत पर्न गयो। अशोक सम्राट स्वयंले पनि दक्षिण भारतको एक भाग समेट्न नसकेर बीचैमा छोडिदिएका थिए। जतिबेला उनले युद्धको बाटो परित्याग गर्ने अठोट ग्रहण गरे। त्यसपछि कुशान, (कनिष्क) मुगल साम्राज्य र अन्तिममा अङ्ग्रेज उपनिवेशले सम्पूर्ण भारत वर्ष आफ्नो मुठ्ठीमा पार्‍यो। त्यसअघि बङ्गलादेशमा पाल वंशीहरूले राज गरे। अशोकको पूर्वकाल र अशोकको साम्राज्यको विघटनपछि मुगलहरूको प्रवेशकालसम्म भारत वर्षमा विभिन्न स्वतन्त्र राज्यहरू थिए।

 
अङ्ग्रेज उपनिवेशबाट मुक्ति भएपछि धेरैले भारतको नाम ‘हिन्दुस्तान’ भनेर राख्न रूचाएका थिए। किनकि धार्मिक कारण पाकिस्तानको विभाजन हुन गएको थियो। तर डा.अम्डेकर, महात्मा गान्धी र जवाहरलाल नेहरूलगायतका दिग्गज नेताहरूले इण्डियालाई ‘भारत’ भनी उल्लेख गराएका हुन्। जब कि ‘हिन्दूस्तान’ भन्नाले धर्म सम्प्रदायभन्दा पनि भाषा वा वंश जाति विशेषको अर्थ बोक्ने गर्दथ्यो। सिन्धु उपत्यकाबाट इन्दू उपत्यकामा सभ्यताको केन्द्र बनेपछि मात्र चीन–भारत परिचित हुन गए। त्यसकारण चिनियाहरूले भारतलाई ‘इन्दू’ पनि भन्ने गर्छन्।

 
गुप्तकालमा फाइयान, व्हेनसाङजस्ता चिनियाँ बौद्धमार्गीहरूले भारत (मगध), लुम्बिनी (नेपाल) को यात्रा सम्पन्न गरेको पाइन्छ। भारतको प्राचीन इतिहासको अध्ययन गर्दा यी कुराहरू प्रस्टै बुझ्न सकिने विषय हो। धेरै सर्वसाधारण र पढेलेखेका समेतले वर्तमान भारतको मानचित्र नै प्राचीन भारतको मानचित्र ठान्ने गल्ती गर्ने गर्छन्। सम्राट कनष्किको पालामा काश्मिर निकट तेस्रो बौद्ध सङ्घायान (महासम्मेलन) भएको थियो। त्यो चौथो शताव्दी (इ.सं. ४११) मा नै बुद्ध धर्मावलम्बीहरू मत बाझिएर महायान र हिनायान दुई सम्प्रदायमा विभाजित हुन गएका हुन्। तर बौद्धसूत्र ग्रन्थहरूमा बुद्धकालमै मगध, कोसल, वैशाली, उज्जैन, कपिलवस्तुलगायत अनेक स्वतन्त्र राज्यहरूको राजा, महाराजाहरूको उल्लेख गरेको पाइन्छ।

 
तिब्बतीहरूले भारतलाई धेरै पहिलेदेखि ‘ग्यागार’ भनी सम्बोधन गर्छन्, अर्को आर्यवर्त (फाग्युल) पनि हो। आर्यवर्तले इन्दू उपत्यकाको प्रभाव क्षेत्रलाई मात्र समेट्ने गर्दथ्यो। ग्यागररू भारत वर्ष मान्ने गरिन्छ। त्यसकारण संस्कृत, पाली वा अन्य कुनै भारतीय भाषाबाट कुनै ग्रन्थ अनुवाद गर्दा भाषाको नाम उल्लेख नगरी ‘ग्यागर काईदु’ ‘भारतीय भाषामा’ फलानो पुस्तक भनी सम्बन्धित ग्रन्थको नामोच्चारण गरी लेख्ने गर्थे। त्यसकारण लुम्बिनी र कपिलवस्तु कहाँ पर्छ भन्ने विषयलाई विवादमा ल्याउनु बेकारको कुरा हो। त्यो नेपालकै भूक्षेत्र भित्रको हो भन्ने तथ्य दुई देशको सिमानाले नै निर्धारण गरिसकेको छ।

 
हाल भारतले लुम्बिनीको विकासका लागि भनेर ३९ करोड रूपैयाँ सहयोग प्रस्ताव अघि सारेको छ। लुम्बिनीप्रति अन्तर्राष्ट्रिय चासो बढ्दै गएपछि भारतले पनि आफ्नो तर्फबाट चासो देखाउनु स्वाभाविकै मानिन्छ। बरू बृहत्तर लुम्बिनी विकास योजनाको स्वरूप कस्तो प्रकारको र कसरी लागू गर्ने भन्ने प्रश्न मूल विषय हो। पुरानो गुरूयोजनालाई हेरफेर नगरी कुनै गुरूयोजनाभन्दा बाहिरी भागमा बृहत्तर गुरूयोजनालाई विस्तार गर्नुपर्छ भन्ने मत–विचारलाई सबैले स्वागत गरेका छन्। हाल दक्षिणी कोरियाली वास्तुकारले पद्माकारको गुरूयोजना छलफलका लागि प्रस्तुत गरेका छन्। गुरूयोजना बौद्ध कला, संस्कृति र बुद्धकालीन कथावस्तुभन्दा बाहिर जानु हुन्न भन्ने गरेको छ। त्यसका लागि गम्भीर छलफलको आवश्यक पर्छ।

 
अहिले लुम्बिनी वरपर ठूलठूला भवन बनाउने होडबाजी नै चल्ने गरेको छ। सरकारले समयमै बृहत्तर लुम्बिनी विकास, योजनाभित्र पर्नसक्ने क्षेत्रहरूमा अहिलेदेखि नै जथाभावी हुने गरेका नयाँ निर्माण कार्यलाई कडाइका साथ नियन्त्रण गर्नु जरूरी छ। नभए योजना निर्माण गरी लागू गराउँदा अनावश्यक समस्या खडा हुने देखिएको छ।

मजदूर दैनिकबाट साभार

 

2 weeks ago/Monday, February 12th, 2018/