उपत्यकामा बुद्धधर्मको प्रवेश

संगीना वज्राचार्य

विश्व शान्तिका महान् लुम्बिनीमा भगवान बुद्धको जन्म इसा पूर्व ६२३ मा भएको थियो । नेपालको पवित्र उद्यानमा एक असाधारण अद्वितीय ऐतिहासिक व्यक्तित्वको प्रादुर्भावले नेपाल पवित्र पुण्य भूमिको रूपमा विश्वमा प्रसिद्ध छ । सम्राट अशोकले आफ्नो राज्यभिषेकको बीस वर्षपछि शाक्य मुनि बुद्ध जन्मेको ठाँउमा अशोक स्तम्भमा उत्कीर्ण “हिद बुधे जाते सक्यमुनीति” अर्थ यहाँ शाक्य मुनी बुद्धको जन्म भएको हो, “हिद भगवं जाते ति लुंमिनि गामे” अर्थ यहाँ भगवान बुद्ध जन्मनु भएको लुम्बिनी ग्राममा भनि स्पष्ट उल्लेख ब्राह्मी लिपिको ऐतिहासिक अभिलेखीय प्रमाणले पुष्टि गरेको छ ।

 

चिनिया यात्री फाहियानको “लुनमिन्, ह्वेन साङको “ल–फ–नी”, रिपु मल्लले उत्कीर्ण गराएको “रिपुमल्लथ्चिर जयतु १२३४” र हाल उत्खनन्बाट प्राप्त सिद्धार्थ जन्मस्मारक शिलाबाट बुद्धको जन्म लुम्बिनी नै हो भन्ने सत्य ठहरिएको छ ।

 

भगवान बुद्धले बुद्धगयामा बुद्धत्व ज्ञान प्राप्त भएपछि ४५ वर्ष सम्म निरन्तर रूपमा गाउँ गाउँ, शहर शहर चरिया गर्नु भई बहुजन हिताय बहुजन सुखाय धर्मप्रचार गर्ने क्रममा भगवान बुद्ध स्वय बुद्धत्व प्राप्तको दोस्रो वर्ष कपिलवस्तु आउनु भएको थियो । राजा शुद्धोदन र शाक्य राज परिवारद्वारा भगवानलाई राख्न एउटा रमणीय स्थान चाहिन्छ भनि निग्रोध उद्यानमा बनाएको विहार भएकोले “निग्रोधाराम विहार” भयो । हाल सम्म पनि निग्रोधाराम विहारको भगनावशेष देख्न सकिन्छ । कपिलवस्तुमा विहार बनेको हुनाले बुद्धको विद्यमानवस्थामै नेपालमा बुद्धधर्मले प्रवेश गरि सकेको छ भन्न सकिन्छ । बुद्धकालीनमा नै कपिलवस्तु लुम्बिनी कोलीय क्षेत्र नेपाल अधिराज्यको भूभाग अन्र्तगत परिरहेको भौगोलिक र ऐतिहासिक वस्तु स्थितिले २६ सय  वर्ष देखि स्पष्ट संग औल्याइरहेको छ । यहाँ पटक पटक आएर बुद्धले सुत्र, गाथा, उदान जातक कथा, प्रश्नको जवाफको रूपमा दिएका उपदेशहरूबाट बुद्ध पटक पटक कपिलवस्तु कोलीय क्षेत्रमा पनि आएको चर्चा त्रिपिटक र अर्थकथाहरूबाट सिद्ध भएको छ । यसको साथै काठमाडौं उपत्यकामा बौद्ध धर्मको प्रवेश भएको प्राप्त बौद्ध ग्रन्थ नेपालको इतिहास र वंशावलीको आधारमा यहाँ पनि बौद्ध धर्मको प्रारम्भ बुद्धको जीवन कालमै भएको थियो भन्न सकिन्छ । भगवान बुद्ध किराँती राजा जिते दास्तीका राज्यकालमा काठमाडौं उपत्यकामा आएर १३५० शिष्यहरू सहित स्वयम्भू डाँडाको पश्चिम स्थित पुच्छाग्र चैत्य रहेको ठाँउमा बस्नुभएको थियो । त्यहाँ चुडा भिक्षुणीले भगवान बुद्धलाई पूजा गर्नु भएको थियो । त्यसपछि उहाँ नमोबुद्ध र गुह्यश्वरी जानु भएको र केहि उहाँका शिष्यहरू उपत्यकामा बस्नु भएको थियो ।

 

“मूल सर्वास्तिवाद विनय सुत्र” अनुसार कोशल राजा विदुडमबाट कपिलवस्तुमा आक्रमण पछि धेरै शाक्यहरू भागेर नेवाल वा उपत्यकामा आएका थिए । त्यस्तै उपत्यकामा व्यापार गर्न आएका व्यापारीहरू संग भिक्षु पनि उपत्यकामा प्रवेश गरेका त्यहि क्रममा भिक्षु आनन्दले पनि आफ्ना आफन्तहरूलाई भेट्न उपत्यका आउँदा उनको खुट्टा हिँउले खाएको थियो । यसबाट इ.पू. छैठौ–पाँचौं शताब्दी मै भारतबाट भिक्षुहरूको आवत जावत हुने गथ्र्यो वा बुद्धधर्म प्रचार भएको भनि अनुमान लगाउन सकिन्छ ।

नेपाल उपत्यकामा सम्राट अशोकको आगमन
सम्राट अशोकको राज्यभिषेकको १७ वर्ष पछि इ.पू. २४८ मा तृतीय धर्म संगायना भएको । त्यस धर्म संगायनापछि बुद्धशासनलाई ९ (नौ) राष्ट्रहरूमा बुद्ध धर्म प्रचार गर्ने क्रममा हिमवन्त (हिमालय) प्रदेशमा मज्झिम थेर, संग काश्यप, मूल्देव (अलकदेव) , सहदेव र दुन्दु भिसार आएको कुरा महावंश र दीपवंशमा उल्लेख गरेको छ । दिपवंश अनुसार सम्राट अशोकका यी धर्मदूतबाट यहाँ सर्वप्रथम “धम्मचक्क सुत्त” को देशना भएको थियो । यो धर्मदूत मण्डलको आगमन पछि “गुँविहार” आदि निर्माण भई संघात्मक शैलीद्वारा बुद्धधर्म प्रचार हुन थाल्यो । नेपाल उपत्यकामा जुन दिन गुँविहार बन्यो त्यस दिन देखि बौद्ध सभ्यताको पनि उदय भयो भन्न सकिन्छ । चिनिया यात्री ह्वेनसाङले नेपालमा हीनयानी (थेरवादी) र महायानी दुवै शाखाका भिक्षुहरू थिए भन्ने उहाँको यात्रा विवरणमा उल्लेख छ । हीनयानी (थेरवादी) बौद्धहरू किराँतकालका अन्तिम समयतिर उपत्यकामा प्रवेश गरेको संकेत गरिन्छ । हीनयानी बौद्धहरूको मुख्य विहार गुँविहार भएको देखिन्छ । त्यस्तै साँखुको गल्लीमा एउटा शिलामा फेला परेको एउटा खण्डित अभिलेखमा ‘सांघिक भिक्षु संघस्स’ भन्ने शब्द उल्लेख भएको छ । बुद्ध धर्मका १८ वटा निकायका नामहरू मध्ये कुनै पनि निकायको नाम सांघिक भिक्षु संघ भन्ने छैन । बरू महासांघिक भिक्षु संघ हुनुपर्दछ । त्यसकारण यो अभिलेखमा महासांघिक भिक्षु संघस्स उल्लेख भएकोले यहाँ धेरै पहिले देखि नै महासांघिक भिक्षुहरू रहेको र साँखुको गुँविहारको नामाकरण पनि किराँत परिवारको भाषाबाट भएकोले गुँविहार किराँतकाल मै कायम भएको बुझिन्छ । साँखुको यस अभिलेखमा प्रवेश निकै पहिले भइसकेको देखिन्छ ।

 

सम्राट अशोकको राज्यभिषेकको २० वर्षमा उहाँ आफै लुम्बिनीमा र निग्लिहवामा जानुभई ब्रह्मी लिपिमा कुँदिएको शिला स्तम्भले पनि प्रमाणित गरेको देखिन्छ । त्यसै गरी भाषा वंशावलीका अनुवादका अनुसार किराँती राजा स्थुंगको राज्यकालमा बौद्ध सम्राट अशोक आफ्ना गुरू उपगुप्त, महाराजी तिष्यरक्षिता र एक जना छोरी राजकुमारी चारूमतीको साथमा नेपाल आए । उनले अशोक पटन बसालेर चार कुनामा चार वटा स्तुप, बीचमा एउटा स्तुप र एउटा विहार स्थापना गरेका थिए । त्यसै गरी कीर्तिपुरमा पनि एउटा स्तुप बनाए । उनले चारूमतीको विवाह देवपाल संग गराई दिनु भई देवपाटनको शासक बनाए र ३६०० रोपनी जग्गा दिए । चारूमतीले देवपाटनमा एउटा विहार बनाइन् जसलाई चारूमती विहार भनिन्छ ।

 

लिच्छवीराजा मानदेवको भन्दा पनि पहिलेको मानिएको चावहिलको एक अभिलेखमा एउटी महिलाले किन्नरी जातक कुँडिएका अनेक थरी चित्रले सुहाएको चैत्य बनाएको र महामुनि बुद्धको पूजा र भिक्षु संघको भाजनका निम्ति खेत राखी दिएको वर्णन छ । उक्त अभिलेखमा धेरै काल ठूलो चैत्य हुनुपर्ने र चावही स्तुप नै हुन सक्ने अनुमान गरेको छ । यो अभिलेख लिपिको आधारमा राजा मानदेवको ४६४ AD। को चाँगुनारायणको अभिलेख भन्दा पुरानो मानिएको छ । तसर्थ – ४६४AD भन्दा पहिले नै चावही स्तुप विद्यमान रहेको देखिन्छ ।

 

हालै (वि.सं. २०५९–६१) जीर्णोद्वारका क्रममा प्राप्त ब्रम्ह्ी लिपिमा लेखिएको “चारूवती थूप” र त्यसमाथि धर्मचक्रको आकृतिबाट अशोककी छोरी चारूमती नै भएको देखिन आउँदछ । किनभने बौद्ध धर्मको इतिहासमा सबभन्दा पहिला ब्राम्ही लिपि र धर्मचक्रको प्रयोग गर्ने पहिलो व्यक्ति सम्राट अशोक नै थिए । त्यसैले उनकी छोरीले बनाएको स्तुपमा पनि धर्मचक्रको आकृति र ब्राम्ही लिपिबाट इट्टा राख्नु स्वभाविक देखिन्छ । इट्टामा ब्राम्ही र धर्म चक्रको प्रयोग भएकोले पनि चारूमती सम्राट अशोककै छोरी हो भन्ने देखाउँदछ । सम्राट अशोक नेपाल आएको राइटको वंशावली बाहेक अन्य तथ्यहरूबाट पुष्ठी नभएपनि चारूमतीको नाम अभिलेखमा उल्लेख भएकोले उपत्यका आएको देखिन्छ ।

 

2 weeks ago/Friday, October 6th, 2017/