धर्मचक्र प्रवर्तन दिवस र गुरु पुर्णिमा

भिक्षु प्राणपुत्र
धर्मचक्र प्रवर्तन दिवस र गुरु पुर्णिमा  — आज यी दुइ नामले धार्मिक, सामाजिक कार्यक्रममा धेरै रमाइरहेका छन\ । फेसबुक पनि यसबाट सजिएको छ रत्तिएको छ ।

तर यी दुइमा केही आधारभूत भिन्नता छ । गुरु पुर्णिमा व्यक्तिपूजा हो , धर्मचक्र प्रवर्तन कर्म वा ज्ञान पूजा हो । व्यक्ति पूजा आदर गौरव भन्दा एक चापलुसी पनि हुने सम्भावना छ । तर ज्ञान आफ्नो अज्ञान हटाउने साधन भएकोले यसले आफ्नो कमजोरी हटाउने चेतना जगाउंछ । र जसले जगाइ दिन्छ उहाँ महान गुरुलाई आदर गौरवले मात्र सम्बोधन, सम्झना गर्छ ।

अत: ज्ञानको जानकारी नहुने व्यक्ति आज पूजेको गुरु भोलि अपूजनीय पनि हुनसक्छ । तर ज्ञानले पूर्ण परिचित व्यक्तिले गुरुलाई ३६५ दिन नै पूज्य बनाएको हुन्छ ।

त्यसमा पनि धर्मचक्र प्रवर्तन चार आर्यसत्य, अष्टांगिक मार्गको उल्लेख भएकोले ज्ञानमा पनि परम सत्य, मार्गमा पनि परम सत्य मार्गको अनुशरण गर्नु पर्ने शिक्षा, प्रेरणा दिन्छ ।

पञ्चभद्र वर्गीयमध्ये कोण्डन्य त सिद्धार्थ गौतमको न्वारानमा नै बुद्ध हुन्छ भनेर घोषणा गर्ने व्यक्ति हो । २८ वर्ष २ महिनामा गृहत्याग गरे पछि ‘हेर मैले भनेको मिल्यो, लौ जाऊ ज्ञान पाउन‘ भनेर ४ अन्य युवालाई पनि सम्झाएर ल्याउने व्यक्ति हो । तर मिथ्या धारण, पूर्व संस्कारको दास, परम्परावादी आदिको कारणले त्यही कोण्डन्यले ‘अव यो लोभी भयो, ज्ञान लाभ गर्न सक्दैन‘ भनेर आफूले पहिले गरेको घोषणा वा आफ्नो किताबी ज्ञानको खिल्ली उडाएको थियो ।

यही कुरा बुझ्नुभएको बुद्धले ज्ञान दिन अघि ज्ञान लिन चाहनेले आसक्त स्वभाव र विद्रोह स्वभाव छाडेर स्मृति युक्त मध्यम मार्ग अपनाउनु पर्ने सल्लाह दिए पछि मात्र कोण्डन्यले गल्ती महशुस गरेर बुद्धको उपदेश सुन्यो र ऊ पनि अरहन्त ज्ञानलाभी भयो ।

अत: आजको धर्मचक्र प्रवर्तनले मात्र गुरुको सम्मान होइन , आफूमा भएको परम्परागत मिथ्याधारण, गतल सोच, आदत बानीको दासत्व आदिलाइ छाडेमा मात्र नयाँ नयाँ ज्ञान, विकास हुने बताइएको छ । हाम्रो देश किन विकसित भएन ? बुद्धको जन्मभूमिमा बुद्ध शिक्षा कि ज्ञान पाउने माध्यम भएन ? भनेर खोजी गरेमा उही पुरानो परम्परा, आदत, बानी आदि नै मूल कारण पाउँछौं । यसैले नेपालीहरू विकास प्रेमीभन्दा पनि परम्परागत संस्कृति आदत बानी प्रेमी भएको हामी प्राय: बाबु बाजेको अवस्थामा नै छौं । न ज्ञान बुझ्छौ, न बिकास गर्न सक्छौ ।

अब गुरुको सम्मान गर्नु अघि उहाँको ज्ञानलाई सही रूपमा मूल्यांकन गर्ने र आफ्नो मिथ्याधारणालाई कम गर्ने अटोठ गर्न सके धर्मचक्र प्रवर्तनको सार उद्देश्य सन्देश कोलाभ उठाउन सकिनेछ । अन्यथा यो पनि एक कर्मकाण्ड नै हुनेछ ।

1 month ago/Monday, July 10th, 2017/