बुद्धवाणी– व्याख्याता

“बुद्ध वाज बर्न इन नेपाल भन्ने टिसर्ट लगाउने धेरै छन् तर बुद्धबारे एबीसीडी नै थाहा छैन”
– राजकुमार बानियाँ
सार्वजनिक सभा–समारोहमा निम्ता आउँदा हाँसीहाँसी अस्वीकार गरिदिन्छन्, ‘म त भ्याउँदिनँ ।’ सम्मान–अभिनन्दनको कार्यक्रम राख्दा भनिदिन्छन्, ‘फुर्सद छैन ।’ विदेश घुम्ने ‘अफर’ आउँदा सजिलै पन्छाइदिन्छन्, ‘समय छैन ।’ पीएचडी गाइड गरिदिनुपर्‍यो भन्दै आउँदा भन्छन्, ‘अहिले सक्दिनँ ।’ अन्तर्वार्ताका निम्ति समय माग्दा टारिदिन्छन्, ‘पछि गरौँला ।’
 
 
चार दशकयता यस्तै जीवनशैलीमा रमाइरहेका छन्, अनुवादक दुण्डबहादुर बज्राचार्य (सानुभाइ), ६९ । उनको मिसन छ– पालि भाषामा रहेका मूल तथा प्रामाणिक बुद्धवचनलाई मातृभाषा (नेवारी)मा उतार्ने । त्यसैले त पाटनको पुरानो बस्ती गाबहालको घरमा ऋषितुल्य निरन्तर गुफाबासमा छन् । त्यही एकान्त उनलाई प्रिय छ ।
 
सानुभाइको ‘वन म्यान वन मिसन’ कुनै एनजीओ–आईएनजीओको जस्तो काम होइन । यसमा न ‘सोसल स्टाटस’को लोभ छ, न स्वार्थ । उनको स्वार्थ भनेको बुद्धको स्वार्थ मात्र हो । त्यसैले उनी सामाजिक गतिविधिमा नअल्झीकन मुक्त भएर गहन साधना गर्न चाहन्छन् । उनको संकल्प छ, “यो काम नसकी म कहीँ निस्कन्नँ ।”
 
बुद्धत्व पाएदेखि महापरिनिर्वाण नहुन्जेल ४५ वर्षसम्म गौतम बुद्धले दिएका उपदेशको संग्रह हो, त्रिपिटक । त्रिपिटक अर्थात् तीन टोकरीमा विनय, अभिधम्म र सुत्त पर्छन् । पालि टेक्स्ट सोसाइटीले सय वर्ष पहिल्यै अंग्रेजीमा उल्था गरेको त्यो धर्म साहित्यका ४५ ग्रन्थमध्ये एक चौथाइ अनुवाद उनले प्रकाशनमै ल्याइसकेका छन् भने बाँकी प्रकाशनको सँघारमा छन् । उनको दाबी छ, “अब बुद्ध धर्म अध्ययनका लागि श्रीलंका, म्यानमार, थाइल्यान्ड वा अरू कतै धाउनु पर्दैन ।”
 
सानुभाइको कठोर साधना कतिपयले पत्याउँदैनन्, सोध्छन् पनि– यतिका किताब कसरी उल्था गर्नुभयो ? हुन पनि उनले एक मिनेट खेर फालेका छैनन् । राती १० बजे सुतेर बिहान १ बजे ब्यूँझे भने पनि उल्थामै लाग्छन् । कहिलेकाहीँ त बिहान–दिउँसो–राती लगातार ४८ घन्टासम्म लेखेको लेख्यै हुन्छन् । तैपनि, उनलाई समय पुगेको छैन ।
 
उनलाई यसरी दीर्घसाधनामा लगाउने भने पिता पूर्णबहादुर बज्राचार्य रहेछन् । पुख्र्यौली सुनचाँदी व्यवसाय भए पनि पिता आफैँ बौद्ध विद्वान् थिए र घर आडैको रत्नाकर महाविहारको चक्रेश्वर (ठूलो आजु) पनि । उनी देशी–विदेशी विद्वान्, भिक्षु, भन्तेलाई ल्याएर घरमै प्रवचन गराउँथे । यस अर्थमा घर बुद्ध धर्मको केन्द्रजस्तो थियो । शाक्यसिंह विहार निर्माणमा लागेका उनका माइला दाजु पवित्रबहादुर (राजभाइ)लाई नचिन्ने त भिक्षु–भिक्षुणी नै थिएनन् ।
 
बाहिर सुनचाँदीका गरगहना, भित्र त्रिपिटकको सुवासना । त्यही वातावरणमा हुर्किए सानुभाइ । पिताले संस्कृतका विद्वान् मंगलानन्दलाई घरमै बोलाएर संस्कृत पढाए । त्यो पालि भाषा सिकाउने काइदा रहेछ । उनको सपना रहेछ– सानुभाइले पालि भाषा पढोस् र बौद्ध विद्वान् बनोस् । भन्छन्, “संस्कृतभन्दा पालि सजिलो छ । संस्कृतमा बहुवचन छ । पालिमा छैन । संस्कृत जान्नेलाई तीन–चार महिना गाइड गरे सजिलै पालि बुझ्न सक्छ ।”
 
बज्राचार्य परिवारका १३ जवान दाजुभाइ–दिदीबहिनीमध्ये सबभन्दा कान्छा सदस्य थिए, दुण्डबहादुर । त्यसैले उनको अर्को नाम रह्यो, सानुभाइ । अहिले पनि उनका दुवै नाम चल्तीमा छन् । उनले प्रारम्भिक शिक्षा त्रिपद्म हाई स्कुलमा लिए भने कलेज जीवन त्रि–चन्द्रमा पूरा गरे ।
 
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका उनी अधिवक्ता पनि हुन् । अझ लाइसेन्सका हिसाबमा त पाटनका तीन नम्बरका वकिल । “सन् १९७५ मा भारतमा इन्दिरा गान्धीको संकटकालका पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि मैले वकालत छाडिदिएँ,” उनी भन्छन्, “तर, मसँग वरिष्ठ वकिलसँग भन्दा बढी कानुनी किताब छन् ।”
 
सानुभाइको पहिलो अनुवाद ग्रन्थ हो, इतिवुत्तक (०३८) । खासमा उनलाई मिलिन्द प्रश्नको उल्था गर्नु थियो । उनले पटक–पटक विद्वान्हरूको दैलो गुहारे । तर, सबैले आश्वासन मात्र दिए । कसैले नगरिदिएपछि उनी आफैँ ताते । केही अंश अनुवाद गरेर भिक्षु सुदर्शनलाई देखाए । हिउँदे याममा सुदर्शनले घाम जता सर्‍यो, उतै चकटी सारेर दुई–तीन घन्टा हेरे । र, एकदमै खुसी भएर भने, ‘सानुभाइले गम्भीर ग्रन्थमा काम गर्‍यो ।’
 
०४० मा त्यो काम पूरा भयो पनि । वर्षावासमा रहेका तिनै भिक्षुले गणबहाल बिहारको एउटै कोठामा तीन महिना बसेर पाण्डुलिपि आद्योपान्त हेरिदिए । उनले भने, ‘यति काम गरेपछि त्रिपिटक अनुवाद किन नगर्ने ? यो काम तिम्रै हातबाट हुनुपर्छ ।’
 
अर्को वर्ष आमा वीरमायाको निधन हुँदा सानुभाइले पाउ छोएर कसम खाए, ‘आमा, म तपाईंकै भाषामा सारा बुद्धवचन अनुवाद गरिदिन्छु ।’ नभन्दै उनले ४५ दिनभित्रै दिनको १८–२० घन्टा खटेर दीघनिकाय अनुवाद गरे । त्यो त्रिपिटक अन्तर्गत सुत्त पिटकको प्रथम निकाय ग्रन्थ हो । त्यतिबेला भिक्षु सुदर्शनले भनेको सम्झन्छन्, ‘४० जवान भए वर्षदिनमा त्रिपिटकको अनुवाद तयार हुन्छ । आठ जवान भए पाँच वर्षमा । अरू जवान तयार नहुन्जेल तिमीले नै यो काम गरिरहनू ।’
 
अनुवाद कठिन काम हो । त्यसमाथि भीमकाय ग्रन्थको अनुवाद । पुस्तकाकार रूपमा आएको बुद्धका पूर्वजन्मका कथा जातक २ हजार ४ सय पृष्ठको छ । त्यसलाई उनले ६ भागमा निकालेका छन् । संयुक्तनिकाय १ हजार १ सय ९२ पृष्ठको छ भने मज्झिमनिकाय ९ सय २४ पृष्ठको । उनका भतिजा अशोकरत्नले केही वर्षअगाडि भनेका रहेछन्, ‘एक जनाले दिनको एक पाना पढ्ने हो भने २२ वर्ष लाग्छ ।’ अब त ३० वर्ष लाग्ने काम भइसक्यो ।
 
बुद्ध ग्रन्थ प्रकाशनमा बज्राचार्य परिवारको मौलिक योगदान छ । दुई दर्जन ग्रन्थ प्रकाशन उनको परिवारले आफ्नै खर्चमा गरिसकेको छ । त्यसका लागि अहिलेसम्म कुनै साहू–महाजनसित एक पैसा नमागेको सानुभाइको भनाइ छ । “अरूसित पैसा लिँदा आफूले भनेजस्तो गर्न पाइँदैन । म नोकरजस्तो हुन्छु,” उनी भन्छन्, “म कसैको अधीनमा बस्न सक्दिनँ । आफ्नो मालिक आफैँ भएर स्वतन्त्र रूपमा काम गर्न चाहन्छु ।”
 
उनलाई प्रस्तावै नआएको भने होइन । तर, उनी सकभर पारिवारिक साधनस्रोतकै उपयोग गर्न चाहन्छन् । बरू, धार्मिक आस्थाका एकाध व्यक्तिबाहेक ग्रन्थ खोजेर पढ्ने वा समीक्षा गर्ने देखिँदैनन् । उनलाई सन्तोष छ, “नेपाल भाषा मरेर गए पनि यसै आधारमा शब्दकोशमार्फत पुन: जीवित गर्न सकिन्छ ।”
 
भिक्षु सुदर्शनको प्रेरणाले अल्छी नमानीकन यहाँसम्म आइपुगेका सानुभाइलाई अब बुद्धवचन नेपालीमा ल्याउनु छ । यद्यपि, चार दशकको भेडियाधसानले सानुभाइलाई उपहारमा डायबिटिज रोग दिएको छ, मुटुको औषधि नियमित खाइरहेका छन् । आँखामा मोतीविन्दुका साथै माइनस ३ दशमलव ७५ को पावरदार चस्मा चढेको छ ।
 
बुद्धवचनलाई नेपाली भाषामा ल्याउने काम आफ्नै जीवनकालमा भ्याइँदैन भनेर उनले अनुरोध गरेको गर्‍यै छन्, ‘बरू खर्च मै बेहोर्छु । कसैले गर्नुपर्‍यो ।’ सबैले ‘हुन्छ, हुन्छ’ मात्र भन्छन्, आफैँ अघि सर्दैनन् । उनको जाँगर हेर्दा लाग्छ, एक दिन नेपाली भाषामा त्रिपिटकको प्याकेजै आउने छ । भन्छन्, “मलाई कम्प्युटरमा १५–२० मिनेट बस्दा नै छटपटिने होइन, कम्तीमा चार–पाँच घन्टा लगातार खट्न सक्ने मान्छे चाहिएको छ ।”
 
उनको परिवारले दिवंगत बाबुआमाको नाममा वीर–पूर्ण पुस्तक संग्रहालय चलाएको छ । यसको आफ्नै कथा छ । पिताजी देशबाहिर गएर फर्कंदा सानुभाइलाई बुद्ध धर्मका नयाँ नयाँ किताब ल्याएर थुपारिदिन्थे । हिन्दी, पालि मात्र नभएर संस्कृत र अंग्रेजीका पनि । त्यसरी किताब जम्मा हुँदा ब्रिटिस म्युजियमको अवधारणामा पुस्तकालय तयार भयो । “भन्ते र गुरुमाहरूले बुद्ध पुस्तकालय कहीँ नभएकाले पण्डित जगन्नाथलाई हाम्रो घरमै ल्याएका थिए,” सानुभाइ सम्झिन्छन्, “चकित परेका थिए पण्डित ।” यसै गरी आश्चर्य मानेका थिए, राहुल सांकृत्यायन, बर्माका भद्दन्त महासी सयाडोले ।
 
पुस्तक संग्रहालयका दुई विभाग छन् । एक प्रकाशित र अर्को हस्तलिखित ग्रन्थ । प्रकाशित ग्रन्थको संख्या २५–३० हजार छ भने हस्तलिखित ग्रन्थको संख्या तीन सयजति । दुर्लभ र मूल्यवान् हस्तलिखित ग्रन्थ भने सबैको पहुँचमा छैन । सानुभाइ ठट्टा गर्छन्, “कालो ब्याग लिएर आएका रिसर्च स्कलरसँग मलाई असाध्यै डर लाग्छ ।”
 
नेपाल (भाषा) वाङ्मयको सूची बनाउने हो भने ९० प्रतिशत पुस्तक त्यहीँ छन् । भण्डारण अभावका कारण केही ग्रन्थ राष्ट्रिय पुस्तकालय, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञाप्रतिष्ठान, लुम्बिनी पुस्तकालय, मदन पुरस्कार गुठी आशाचपु गुठीलाई उपहार दिए सानुभाइले । “मेरो शेखपछि सार्वजनिक पुस्तकालय या त्रिवि पुस्तकालयलाई दिए पनि हुन्छ,” उनी भन्छन्, “तर, अहिले दिए मेरो त हात भाँच्चिएजस्तो हुन्छ ।”
 
साँच्चै भन्ने हो भने पालि भाषाका ‘अन्तिम पुरुष’ हुन लागिसकेका छन्, सानुभाइ । त्यसैले आफू उपाध्यक्ष रहेको थेरवाद बुद्धिस्ट एकेडेमीलाई घचघचाइरहेका छन्, ‘लौ न पालि लर्निङ सेन्टर खोल्नुपर्‍यो ।’ एकेडेमीवाला उल्टै उनैलाई सिकाउन भन्छन् । सानुभाइले नै सिकाउने हो भने उनको काम कसले गरिदिने ? समय मिले उनी पालि–नेपाली शब्दकोश बनाउने विचारमा छन् ।
नेपालमा पालि भाषाका विशेषज्ञ हातका औँलामा गन्न पनि पुग्दैनन् । अनागरिका विमलञाणी, अनागरिका अग्गञाणी, मा धम्मावती, ज्ञानपुण्यी केही त्यस्ता नाम हुन् । पुरुषमा सानुभाइ । पालि बुद्धको मातृभाषा हो । आधिकारिक बुद्धवचन यसमै छन् ।
 
रोचक के भने नेपाली भाषा र पालि भाषा मिल्दोजुल्दो छ । जस्तो : २९, ३९, ९९ आदि । ‘उनन्’ भनेको पाली भाषामा एक कम हो । उनान्सय भनेको सयमा एक कम । घर, आवास आदि पालि शब्द नै हुन् । सानुभाइले पटक–पटक नेपाल प्रज्ञा–प्रतिष्ठानमा गएर भनेछन्, ‘नेपाली बृहत् शब्दकोशमा पालि भाषाका दुई सय शब्द राखिदिनूस् । मलाई पैसा पनि चाहिँदैन, नाम पनि चाहिँदैन ।’ प्राज्ञहरूले टेरपुच्छर लगाए पो !
 
खासमा सानुभाइको जीवनको उद्देश्य भिक्षु बन्ने थियो अनि फुक्काफाल भएर बौद्ध ग्रन्थको अनुवाद गर्ने । त्यसैले ३७ वर्षसम्म उनले विवाह गरेका थिएनन् । उनले नेपालभरिका हरेक विहार चहार्दा पनि अनुकूल देखेनन् । उनलाई थाहा भयो, त्यसका लागि साधनस्रोत र सम्पन्न परिवारको भरथेग चाहिन्छ । त्यही बेला आमा बितिन् । बिरामी बाबुले भने, ‘तिमी गृहस्थाश्रममा नबसे परिवार भताभुंग भएर जान्छ ।’
 
पिताज्ञा शिरोपर नगर्ने कुरै भएन । उनले आफूभन्दा करिब सात वर्ष कान्छी पाटनकै ज्ञानीशोभासित दाम्पत्य जीवन सुरु गरे । छोरा अनूनरत्न र छोरी मोनिका जन्मिए । छोरा अमेरिकामा विद्यावारिधि गरिरहेका छन् भने युरोपेली विश्वविद्यालयबाट सोसल साइकोलोजीमा स्नातकोत्तर छोरीलाई उनले यतै डाकेर भने, ‘तिमी कहीँ नजाऊ । तिमीलाई चाहिने तलब लिएर मेरो काममा सघाऊ ।’ ज्ञानी छोरीले मानिहालिन् ।
 
उनको सोख भनेको सुनचाँदीका सिक्का संकलन थियो । त्यो पनि भतिजा अशोकरत्नलाई जिम्मा लगाइसके । कति सिक्का थिए भन्ने उनले हिसाबकिताब राखेनन् । जेजे गरे पनि गन्ती नराख्ने उनको शैली नै हो । उनको बिँडो थाम्ने घरमा कोही छैन । छोरा–भतिजा यसमा जति पनि लगानी गर्न तयार छन् । तर, उनको बाटोमा आउन सक्दैनन् ।
 
अनुवादमा एकोहोरिएका यी भाषासेवकले मौलिक पुस्तक लेख्ने मौकै पाएका छैनन् । भन्ते बुद्धघोषलाई एकपटक उनले भनेछन्, ‘बुद्धजीवनलाई म सूत्रबद्ध गरिदिऊँ ?’ उनले भने, ‘भो नगर । त्यसमा सानो गल्ती भयो भने छुट्टै सम्प्रदाय बन्न सक्छ ।’ उनको भनाइमा क्राइस्ट स्वयं भिक्षु थिए । फोटोमा कि बच्चाको रूपमा आमाको काखमा छन्, कि कीला ठोकिएका बूढा क्राइस्ट । ठिटा क्राइस्ट त भिक्षु भएर कश्मीर र तिब्बततिर अध्ययन गरिरहेका थिए ।
 
रोमको लाइब्रेरी अफ कंग्रेसमा जर्मन विद्वान् सिसिल बन्डलले सन् १८९९ अक्टोबरमा रहस्योद्घाटन गरे– सर्वप्राचीन पालि अभिलेख नेपालमै छ । पण्डित हरप्रसाद शास्त्रीले त्यसको फोटोकपी गरेका रहेछन् । त्यतिबेलासम्म नेपालीलाई त्यसको जानकारी नै थिएन । पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठबाट सानुभाइले लिएका थिए, ‘द ओल्डेस्ट पालि म्यानुस्क्रिप्ट ।’
 
“बुद्ध वाज बर्न इन नेपाल भन्ने टिसर्ट लगाउने धेरै छन् तर बुद्धबारे एबीसीडी नै थाहा छैन,” उनी भन्छन्, “बुद्धलाई नबुझी देउता मानेर मूर्तिपूजा गरिरहेका छन् । बुद्ध भनेको आममान्छे होइन, पूर्ण मानव हो ।” बुद्धवचन थाहा नभएकाले नेता, मन्त्री, शिक्षक, चरित्रवान् र नैतिकवान् हुन नसकेको उनको बुझाइ छ ।
 
बुद्ध धर्म मध्यमार्ग हो । यो कट्टर पनि छैन, खुकुलो पनि छैन । मरेपछि स्वर्ग जाने भन्ने धर्म पनि होइन । बरू, यही जीवनमा निर्वाण प्राप्त गर्ने सिद्धान्त हो । सानुभाइ भन्छन्, “पृथ्वीमा सात अर्ब मान्छे छन् । तिनको हिसाब राख्न चित्रगुप्तले भ्याउँदैन । कागज कति चाहिन्छ ? कलम कति चाहिन्छ ? चित्रगुप्तहरू नै कति चाहिन्छन् ?”
प्रकाशित: भाद्र ५, २०७४
 
साभार नेपाल साप्ताहिक
1 month ago/Tuesday, August 22nd, 2017/