महाप्रजापति गौतमीको मातृ वात्सल्य

–शुभवती लामा
परिचय
नेपालका सुपुत्र विश्वका ज्योति महामानव बुद्धको जन्म नेपालको रुपन्देहि जिल्लामा पर्ने लुम्बिनी नामक उद्यानमा ई.पु. ६२३ वैशाख पूर्णिमाको दिन आमा महामायादेवी र पिता शुद्धोदनको कोखबाट भएको थियो । तत्कालिन समयमा लुम्बिनी उद्यान कपिलवस्तु गणराज्यका शाक्यहरुको अधिनमा रहेको थियो । साथै उक्त लुम्बिनी उद्यान शाक्य राजकुमारीहरुको कृडा स्थलको रुपमा पनि परिचित थियो । सारा संसार अनि चक्रवाल मै अद्वितिय महापुरुष, महा–पुण्यवान तथा शान्तिका नायक बुद्धपुरुषको जन्म पश्चात सारा चक्रवालका देव ब्रह्माहरु आएर स्वागत गर्नु भएको थियो । उहाँ बुद्धपुरुष जुनसुकै भावमा जीवन व्यतित गरे पनि लोकको सर्वहित सिद्ध गर्ने अर्थमा उहाँको नाम सिद्धार्थ राखिएको थियो । जन्मेको सातौं दिनमा मातृत्व वात्सल्य गुमाउन पुगेका बोधिसत्वको त्यसपछिका २९ बर्ष सम्मको जीवन महामायादेवीकी बहिनी एवं सुद्धोदनको कान्छी महारानी अर्थात कान्छी मुमा महाप्रजापति गौतमीको रेखदेखमा बित्यो । महाप्रजापति गौतमीले आफैले जन्माएको छोरा नन्दकुमारलाई धाइ आमाको हातमा सुम्पिएर बोधिसत्व सिद्धार्थकुमारलाई मातृ–स्नेह प्रदान गरि काखमा लिएर दुग्धपान समेत गराउनु भएको थियो । यसरी महाप्रजापति गौतमीको मातृत्व वात्सल्यमा आफ्नो शैशवकाल बिताउनु भएका सिद्धार्थ कुमारको जीवन अत्यन्तै सुख सयलमा बितेको थियो । २९ बर्ष सम्म कपिलवस्तु दरबारको ऐश्व आराम अनि पिता शुद्धोदन र माता प्रजापति गौतमीका छत्र छाँयामा जीवन व्यतित गर्नु भएका सिद्धार्थ कुमारले अन्तत संसारमा विद्यमान दुःखहरुबाट आजित भइ यस जगत संसार उद्धारको निमित्त कपिलवस्तु दरबार अनि सम्पूर्ण आत्मिय सम्बन्धहरु त्याग गरि प्रवजित हुनु भएको थियो ।

 

६ बर्ष सम्मको कठिन प्रयास अनि दुष्कर चर्या पश्चात सिद्धार्थ कुमारले सम्यकसम्बुद्धत्व ज्ञान लाभ गर्नुभइ यस लोकमा बुद्ध कहलाउनु भयो । यसरी सम्बोधि ज्ञान लाभ गरि लिनुमा महाप्रजापति गौतमी ठुलो त्याग तपस्या रहेको छ । प्रजापति गौतमीले प्रदान गरिएको मातृत्व स्नेहले गर्दा नै सिद्धार्थ कुमारले बुद्धत्व ज्ञान प्राप्त गर्न सफल हुनुभयो । समस्त संसारको कल्याण अनि बहुजन हित, बहुजन सुखको लागि बोधिसत्व सिद्धार्थ कुमारको बुद्धत्व प्राप्तिमा महाप्रजापति गौतमीको त्याग, तपस्या र मातृ–स्नेहको स्नेहको स्थान अरु कसैले पनि लिन सक्दैन । सारा संसारमै मैत्री र करुणाले आफ्नो सन्तानहरुमा कुशल कर्म रुपी संस्कारहरुको बिजारोपन गरि समर्थवान बनाउनुमा आमाको ममता अनि स्नेहको सर्वश्रेष्ठ स्थान रहेको हुन्छ । यसै अनुरुप महाप्रजापति गौतमीले पनि सिद्धार्थ कुमार प्रति गर्नुपर्ने कर्तव्यमा कुनै कञ्जुस्याई गर्नु भएन । स्याहार सुसार, शिक्षादिक्षा दिने देखि लिएर संकुचित धारणा र संकिर्ण विचारधाराले भरिएको समाजमा सानी आमाले पनि पर सन्तानलाई समर्थवान बनाउन र आमाको परिपुरक बनि मातृ स्नेह, माया, ममता दिन सक्छ भन्ने उदाहरण समेत महाप्रजापति गौतमी बनिदिनु भयो ।

 

महाप्रजापति गौतमीकै अथक प्रयास, धैर्य अनि मेहनतबाट बुद्धशासनमा नारी जातिको लागी प्रवजित हुन स्थान पाएको थियो । तथागत बुद्धले तीन पटक सम्म नारी जातिलाई प्रवजित हुन प्रतिक्षेप गर्दा पनि उहाँको प्रयत्नशील स्वभावको कारण नै भिक्षु आनन्दको सहायताले तथागत बुद्धसँग प्रव्रजित हुने अनुमति मागि दिनु भएको थियो । आजको २१ औं शताब्दीमा नारीहरुले कान्छी आमा (सौतेनी आमा), प्रव्रजित महिला (भिक्षुणी) महाप्रजापति गौतमीको मातृत्व, संघर्षशील जीवन, धैर्य, मेहनत, लगनशीलता, पयत्नशील स्वभाव र साहसिक कदमलाई आदर्शको रूपमा ग्रहण गर्न योग्य छ ।

 

महाप्रजापति गौतमीको उच्च मातृत्व
माता पितालाई ब्रह्मा पनि भनिन्छ । माता या आमा शब्द सुन्दैमा जो कोहिको मनमा पनि आनन्द अनि शितलताको अनुभुति हुने गर्दछ । महाप्रजापति गौतमीले आफ्नो दिदी महामाया देवीको देहान्त पश्चात उहाँका छोरा सिद्धार्थ कुमारलाई मैत्री, करुणा, मुदिता र उपेक्षा युक्त ब्रह्म विहारी भई स्याहार सुसार गर्नुभयो ।
यी चार ब्रह्म गुणहरु आमा बुबामा मात्र हुन्छन् । स्वार्थरहित ९ग्लअयलमष्तष्यलब०ि यी गुण आमा बुबामा हुने भएकोले नै हामी आमा बुबालाई ब्रह्माको रुपमा लिने गर्दछौं । यी चार गुणलाई चतुर्ब्रह्म विहार भनिन्छ । यहाँ ब्रह्मा शब्दको अर्थ उत्तम श्रेष्ठ वा दोष रहित हो भने विहार शब्दको अर्थ वास गर्नु बस्नु हो । यसैले ब्रह्म विहार भनेको उत्तम श्रेष्ठ दोष रहित भएर बस्नु हो ।
१) मैत्री – दया, माया, ममता अरुलाई दुःख हुन्छ भनि चिन्ता हुने ।
२) करुणा – अरुको दुःखमा आफु पनि दुःखित हुने, चित्त कम्पित हुने ।
३) मुदिता – अरुको सुखमा आफु पनि रमाउने ।
४) उपेक्षा – आपूले गरेको उपकारको बदला नखोज्ने ।
यी गुण आफ्नो छोरा छोरीप्रति आमा बुबाको मात्र हुन्छ । यसैले अंगुत्तर निकायको ब्रह्म सुत्रमा भगवान बुद्धले भन्नु भएको छ कि —
ब्रह्माति माता पितरो – पुब्बाचरियाति वुच्चरे ।
आहुनेय्या च पुत्तानं – पजाय अनुकम्पका ।।
सन्तानप्रति अनुकम्पा राख्ने हुनाले मातापिता ब्रह्मा समान र पूर्वाचर्या भनिन्छ ।

 

यी चार ब्रह्म गुणले युक्त महाप्रजापति गौतमीले बालक सिद्धार्थ कुमारलाई वहाँले दिनको दुई तीन पटक सुगन्धित जलमा नुहाउने गरिदिनु हुन्थ्यो, आफ्नै दूध पिलाउनु हुन्थ्यो । बालक हुर्किदै गएपछि दिनको दुई पटक खुवाउने, पिलाउने, हातखुट्टा मिच्ने आदि गर्नुपर्ने सबै सुश्रुषाको काम अत्यन्त स्नेह पूर्वक आपैmले गर्नु हुन्थ्यो र खेलाउने तथा डुलाउने समेत आपैmले गर्नुहुन्थ्यो । यसरी अत्यन्त माया गरी स्नेह पूर्वक सिद्धार्थ राज कुमारलाई स्याहार सुसार गरी ठूलो भएपछि पान–सुपारी समेत आपैmले दिनु हुन्थ्यो । साच्चै भन्ने हो भने यो लोकमा महाप्रजापति गौतमी जस्ती सानी आमा पाउनु महान दुर्लभ कुरा हो । महाप्रजापति गौतमीले नै २९ वर्ष सम्म सिद्धार्थ कुमारलाई मातृ स्नेह दिनुभई हुर्काउनु भएको थियो । यसकारण पनि सिद्धार्थ कुमारले २९ वर्षको उमेरमा गृहत्याग गरे देखि महाप्रजापति गौतमीको मातृ हृदयमा ठूलो घात पुगेको थियो । तत्पश्चात पनि छोराको दीर्घायुको कामना र चिताएको इच्छा पूरा होस् भनी दिन प्रतिदिन प्रार्थना गरी ६ वर्षसम्म आफ्नो पुत्ररत्नको बाटो कुरी बसेकी थिइन् । बास्तवमा आमा बुवामा हुने ब्रह्मत्व गुण भनेको पनि यहि हो कि आफ्नो सन्तानहरु प्रगतीको पथमा अग्रसर हुने क्रममा आफुबाट टाढा नै हुनु पर्ने अवस्थामा समेत किञ्चित पनि चित्त बिचलित नगरि हृदय देखि कुशल कामना गर्न सक्दछन् ।

 

बुद्धत्व प्राप्तिको प्रथम वर्षको अन्त तिर महाप्रजापति गौतमीले सम्यक सम्बुद्ध भगवान् बुद्धको दर्शन गर्ने मौका पाएकी थिइन् । सिद्धार्थ बोधिसत्व बुद्ध भइसक्नु भएपछि वहाँ बुद्धगयाबाट ऋषिपतन मृगदावनमा जानुभयो । त्यहाँ पञ्चवर्गीय भिक्षुहरूलाई धर्मचक्रको प्रथम उपदेश दिई त्यहि नै वहाँले पञ्चवर्गीय भिक्षुहरूका साथ प्रथम वर्षावास बिताउनु भएको थियो । वर्षावास बिताइसक्नु भएपछि क्रमशः राजगृहमा जानुभयो । त्यहाँ राजा बिम्बिसारलाई बुद्धधर्ममा दीक्षित गरिसक्नु भएपछि भिक्षुहरूका साथ आफ्नो जन्मभूमिको निम्ति प्रस्थान गर्नुभयो ।
फल्गुन पूर्णिमा देखि प्रारम्भ गर्नु भएको यात्रा अन्तत बैशाख पूर्णिमाको दिनमा मात्र तथागत कपिलवस्तु आइपुग्नु भएको थियो । कपिलवस्तु पुग्नु भई आफ्ना ञाति शाक्यहरूले उहाँको सम्मानमा न्यग्रोध उद्यानमा न्यग्रोधाराम विहार बनाइदिनु भएको थियो तथागत आफ्ना श्रावकहरु सँग यहि विहारमा बस्नु भएको थियो । त्यसबेला त्यहाँ शाक्य राजपरिवारका साथै विशाल परिषदको भेला भएको थियो । कपिलवस्तु पुग्नुभएको भोलिपल्ट आफ्नो परिषदका साथ आफु पहिला चारघोडे वग्गीमा हिंड्ने सडकमा हातमा भिक्षा पात्र लिई भिक्षाटन जानु भएको कुराले कपिलवस्तु नरेशका दरवारमा खलबली मच्चियो । अनि शुद्धोदन राजाले भगवान् बुद्धलाई निम्तो गरी लैजानु भयो ।

 

त्यसबेला बुद्धका यी सौभाग्यलाई अवलोकन गरिरहनु भएकी महाप्रजापति गौतमी महारानीलाई सारै खुशी लागि वहाँको मातृ हृदयको त्यस्तो कल्पना उठ्यो— “आहा कति शोभनीय हुनुहुन्छ बुद्ध ! अहा कति दर्शनीय तथा सौभाग्यशाली हुनुहुन्छ बुद्ध ! उनान्तीस वर्षसम्म वहाँ गृहस्थीमा हुँदा वहाँलाई मैले नगरेकी सेवा सुश्रुषा केही थिएन । पान, सुपारी समेत मैले आफैले दिएकी थिएँ । अब वहाँलाई के दिऊँ ।” यस्तो मनमा कल्पना हुँदा त्यस बखत वहाँले यस्तो चिताउनुभयो— “मेरो पुत्रलाई अब एक जोडा वस्त्र चढाउँछु, राजदरवारमा अनेकौं प्रकारका वस्त्रहरू त छन् तर ती वस्त्रहरू दिनमा मलाई सन्तोष लाग्दैन । यसमा कुनै महŒव पनि छैन । त्यस्ता वस्त्रहरू त वहाँलाई सबैले दिनसक्छ । अतः आफ्नै हातले कपडा तयार पारी दिनपाए सर्वोत्तम हुने थियो ।” भगवान् बुद्ध दरवारबाट फर्किनु भएपछि महाप्रजापति गौतमीले बजारबाट धेरै कपास ल्याउन लगाई आफ्नै हातले कपास केलाई फट्की मसिनो धागो काटी राजदरवार भित्रै तान राख्ने शाला बनाउन लगाई, शिल्पकारहरूलाई बोलाई, आफूले खाने जस्तै खाना खान दिई कपडा बुन्न लगाउनुभयो । समय–समयमा आफु स्वय्म पनि धाईहरूका साथ शालामा गई तान चलाउनु हुन्थ्यो । कपडा तयार भएपछि शिल्पकारहरूलाई ठूलो सम्मान गरी बिदा दिनुभयो । त्यसपछि तयार गरिएको कपडा सुगन्धित पानीमा भिजाई राख्नुभयो ।

 

केहीदिन पछि मेरो पुत्रलाई चीवर, वस्त्र, चढाउन जान चाहन्छु भनि शुद्धोदन राजालाई बिन्ति गर्नुभयो । यहि नै महाप्रजापति गौतमीको पुत्र स्नेह हो । चीवर तयार भएपछि आफ्नो शिरमा राखी न्याग्रोघाराममा जानुभयो । प्रजापति गौतमीले आफैले तयार गरेको चीवर वस्त्र आफ्नो छोरालाई दान दिने समयमा बुद्धले— “गौतमी संघमा देऊ संघमा दिंदा म पनि पूजित हुनेछु र संघपनि” “संघे दिन्नं महप्फलं” — संघलाई दिने फल महान हुन्छ भनि चीवर संघलाई दिन लगाउनु भयो— महाकारूणिक तथागतले आफ्नो आमालाई ठूलो महान पुण्य प्राप्त होस् भनी संघलाई दिन लगाउनुभयो ।

 

यसरी प्रजापति गौतमीले आफुले हुर्काएको छोरा बुद्धपुरुष जगत संसारको उद्धारका लागि चारिका गर्नु भएको देखि उनको मन गर्व र आनन्दले प्रफुल्लित भएको थियो । बुद्ध पुरुष जस्तो व्यक्तिलाई सेवा गर्न पाउनु, आमा बन्न पाउनु र स्याहार सुसार गर्न पाउनु महाप्रजापति गौतमीको ठूलो भाग्य थियो ।
निष्कर्ष —
धम्मं चरे सुचरितं – न तं दुच्चरितं चरे ।
धम्मचारी सुखं सेति – अस्मिे लोके परिम्हिच ।।
अर्थ — “धर्म आचरण राम्रोसंग गर्नुपर्छ दुराचरण गर्नुहुँदैन । धर्माचरण गर्ने व्यक्तिले इहलोक, परलोक दुवैमा सुखपूर्वक जीवन बिताउँछ ।”

 

प्रथम पटक कपिल वस्तुमा आउनु भएको बेलामा दरवारमा भोजनोपरान्त दिनुभएको यो उपदेश सुनी महाप्रजापति गौतमी स्रोतापति फलमा प्रतिष्ठित भएकी थिइन् । यहीँबाट सुरु भयो प्रजापति गौतमीको धार्मिक शान्ति यात्रा — छोरा नन्दकुमार, नाति राहुल पनि बुद्ध शासनमा प्रव्रजित भए र शुद्धोदन राजा पनि परिनिर्वाण हुनुभयो । प्रजापति गौतमीलाई कपिलवस्तु दरवार शुन्य लाग्न थाल्यो । भौतिक सुखले पूर्ण कपिलवस्तु दरवारमा कुनै रौनक र सुखको अनुभव गर्न नसकेपछि ५०० शाक्य स्त्रीहरू सहित भगवान बुद्ध प्रव्रज्याको लागि अनुमति लिन बैशाली जानुभई अष्ट गरु धर्मलाई स्वीकार गरी बुद्धमाता महाप्रजापति गौतमी बुद्ध शासनको प्रथम भिक्षुणी हुनुभयो । यसरी प्रव्रजित जीवनलाई सार्थक बनाई धेरै नारीहरूको कल्याणको लागि नेतृत्वदायी भूमिका निभाउनु भई बुद्ध शासनको चार पांग्रामध्ये दोस्रो पांग्रा भिक्षुणी शासनलाई बलियो बनाई चीर रात्रज्ञ भिक्षुणी श्राविकाहरू मध्येमा महाप्रजापति गौतमी अग्र भई १२० वर्षको उमेरमा “बुद्धसामु क्षमायाचना गरि अनेक ऋद्धि प्रातिहार्य देखाउनु भई महापरिनिर्वाण हुनुभयो ।
सन्दर्भ सामाग्री—
१) भिक्षु अमृतानन्द, संक्षिप्त बुद्ध जीवनी, लुम्बिीनीः अन्तराष्ट्रिय बौद्ध समाज, २०५५,
२) आचार्य भिक्षु अमृतानन्द, धम्मपद, अनान्दकुटी विहार गुठी, (२०५७),
३) अनु. भिक्षु बोधिसेन (२०७२), अङ्गुत्तर निकाय, काशीमाया मानन्धर, चुन्ति मानन्धर, पूर्णलक्ष्मी मानन्धर र केशावती मानन्धर ।
४) भिक्षु धर्मगुप्त, (२०७१), परियत्ति शिक्षा, नेपाल बौद्ध परियत्ति शिक्षा परिषद् ।
५) आचार्य भिक्षु अमृतानन्त्र (२०६१), महाप्रजापति गौतमी, मोतिलाल शिल्पकार ।
६) भुवनलाल प्रधान, नेपालमा बुद्धधर्म, काठमाण्डौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
७) मानन्धर, नानीमैंया (२०६३), नारी प्रति बुद्धका देन, श्री विश्वमान बज्राचार्य, परिवार ।

2 months ago/Monday, July 31st, 2017/