पटिच्च समुप्पाद (प्रतीत्य समुत्पाद)

भिक्षु प्राणपुत्र
अनात्मको अध्ययन साधारण अर्थ नाम रूपको स्तरमा, अलिक विस्तृत पञ्चस्कन्धको स्तरमा र पूर्ण विस्तृत प्रतीत्य समुत्पादको स्तरमा अध्ययन गरिनु पर्छ ।

पटिच्च समुप्पादमा १२ अंग वा कडी छन् । जस्तै– १.अविज्जा, २.संखार, ३.विज्ञान, ४.नाम रूप, ५.६ आयतन, ६.स्पर्श, ७.वेदना, ८.तण्हा, ९.उपादान, १०.भव, ११.जन्म, १२.जरा मरण ।

यसको सार लिंदा ३ काल (कारण– भूत, अहिलेको अवस्था– वर्तमान र परिणाम– भविष्य), १२ कडी– एक पछि अर्को जोडिएर क्रमश: भएर जाने सम्बन्ध लाइ अध्ययन गर्न सकिएमा प्रतीत्य समुत्पाद वा अनात्म बुझ्न सरल हुन्छ । यसैबाट प्राण्ीको पूर्नजन्म पनि कसरी हुन्छ भनेर बुझ्न सकिन्छ ।

छोटकरी परिचय– एउटा कारणको आधारमा अर्को कार्य उत्पन्न हुने प्रकृयालाइ प्रतीत्य समुत्पाद भनिन्छ । यो पनि २ प्रकृया हुन्छ । १. सुल्टो– वट्टचक्क (वर्तचक्र), अनुलोम– घडीको सुइ घुम्ने तरिकाले । २.उल्टो– विवट्टचक्क (विवर्तचक्र), पटिलोम– घडीको उल्टो सुइ घुम्ने तरिकाले ।
जस्तै– १ को कारणले २ हुन्छ । २ को कारणले ३ हुन्छ आदि आदि । १ नभएकोले २ भएन । २ नभएकोले ३ भएन आदि आदि ।

खाना पकाउन
वर्तचक्र– आगो लगाएको कारणले भाँडा तातियो । भाँडा तातिएको कारणले खाना तातियो । खाना तातिएकोले खाना गल्दै गयो । खाना गल्दै गए पछि अन्तमा खाना पाक्यो ।

विवर्तचक्र– आगो नलगाएको कारणले भाँडा तातिएन । भाँडा नतातिएकोले खाना तातिएन । खाना नतातिएकोले खाना गलेन । खाना नगलेकोले खाना पाकेन ।

यसैले यीनिहरू कार्य कारणमा आधारित हुने हुनाले प्रतीत्य समुत्पन्न हुन । म, मेरो, मेरो आत्माको विषय होइनन् ।

(अनात्म, अनात्मा क्रमश: १२)

3 weeks ago/Thursday, July 27th, 2017/