गुंला पर्वको इतिहास र बुद्ध धर्मसँगको सम्बन्ध

-केके मानन्धर
 
गुंला पर्वको इतिहास
 
त्यस पश्चात उहाँले चोभारको पहाड आफ्नो खड्गले काट्नु भएर दहको पानीलाई निकास बनाएर फालेको उल्लेख छ । महामञ्जुश्रीले दहमा जम्मा भएको पानी सुकाएर पञ्जुपत्तन नगर विकास गर्नुभयो । स्वयम्भू महापूराणमा उल्लेख भएको सोही नगर अहिलेको राजधानी हो । जहाँ स्वयम्भू महाचैत्य देखि सोही चैत्यसँग सम्बन्धित धर्मलाई स्वीकार गर्ने बौद्धमार्गी आदिवासीहरु बस्छन् ।
 
महामञ्जुश्रीले आफ्ना अनुयायीहरुलाई बस्न दिएर निर्माण गरेको नगर कालान्तरमा सुन्दर नगरको रुपमा विकास भएको छ । सोही क्रममा महायानी बुद्धधर्मका गुरु शान्तिकराचार्यले स्वयम्भू महाचैत्यलाई व्यवस्थित बनाएर स्थापना गर्नुभएको हो । उहाले स्वयम्भू महाचैत्य बनाउनु अघिबाट यो ठाउँमा चैत्य सेवा गर्ने परम्परा शुरु भइसकेको थियो । शुरुका समयमा गरेको चैत्य सेवालाई नै पछिल्लो समय गुंला पर्वको रुपमा स्वीकार गरिएको छ । बुद्धका विभिन्न रुपहरु मध्ये महामञ्जुश्रीले शुरुवात गर्नुभएको चैत्य सेवा नै अहिलेको गुंला पर्व हो ।
 
गुंला पर्वको अर्थ
 
वर्षेनी आउने १२ महिनाहरु मध्ये नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो । स्थानिय नेवार भाषामा “ला”को अर्थ महिना र “गुं”को अर्थ पहाड र जङ्ल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदा देखि भाद्र शुक्लपक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुंला हो । यस अवधिमा हुने ऐतिहासिक, सांस्कृतिक र धार्मिक गतिविधिलाई समेटेर गुंला पर्व मनाउने गरिन्छ । साउन शुक्लपक्षबाट शुरु हुने यस पर्वमा बज्रयानी बौद्धमार्गाीहरुले मौलिक बाजा बजाएर पृथक रुपमा बुद्धको उपासना गर्छन् । यो अवधिमा धाःबाजा, नेकू, म्वायेलीलगायतका बाजा बजाउँदै विभिन्न बौद्ध बिहार, चैत्य तथा चोक परिक्रमा गर्ने चलन छ ।
 
विशेषगरी स्वयम्भू महाचैत्य वरपरको माहौल गुंला पर्वको अवधिमा संगीतमय बनाउनेमा ती मौलिक बाजागाजाहरुको भूमिका अग्रनी देखिन्छ । यो शैली पछिल्लो समय संगीतमा देखिएको परिवर्तित र विकसित रुप पनि हो । शुरुका समयमा नेकू (राँगाको सिङबाट निर्मित) बाजामा सीमित चैत्य सेवाको सांगितीक माहौललाई अहिले आधुनिक बाजाहरुको समिश्रनमा अझ भव्य बनाएको देखिन्छ ।
 
चैत्य दर्शन गरेर नामसंगीति पाठ गर्ने गुंला पर्वको अर्को विशेषता हो । गुंला पर्वलाई अर्को शब्दमा गुणिला भनिन्छ । यो समय काठमाडौंका नेवारहरु विशेषगरी बिहान सबेरै स्वयम्भू महाचैत्य दर्शन गर्न पुग्छन् । यद्यपि भक्तपुर, काभ्रेको बनेपा, थिमि, कीर्तिपुरलगायत उपत्यका बाहिरका नेवारहरु आ-आफ्ना बुद्ध बिहार, चोक, चैत्य परिक्रमा गर्छन् ।
 
श्रृङ्गभेरी अवदानमा शशीपट्टन नगरका राजा सिंहकेतुको पूर्नजन्मसँग गुंला पर्व सम्बन्धित छ । शिकार मन पराउने राजा सिंहकेतुका अहिंसावादी रानी हुन्छन् । राजाले गरेको शिकार र रानीको अहिंसाका बाबजुद पुर्नजन्ममा उनीहरुको मिलन हुने किंवदन्ती छ । ब्राम्हण कूलमा जन्म भएकी रुपवति तथा शीलस्वभावका धनी सुन्दरीले हिंसावादी स्वभावका राजालाई चिनेर उद्धार गर्छिन् । बोधिसत्वका सुझाव अनुसार बाछो भएर जन्म भए पश्चात मृत्युवरण गरेका सिंहकेतुलाई चैत्य बनाएर परम्परागत बाजा, नेकू बजाउँदै एक्काइस दिन प्रार्थना गर्छन् । सुन्दरीको प्रार्थना र साधनाका कारणले सिंहकेतुको पापमोचन भइ फेरी मानव जन्म भएको उल्लेख छ ।
 
सोही समय देखि परम्परागत बाजा बजाउने चलन शुरु भएको जनश्रुती छ । गुंला पर्वको अवधिमा परम्परागत बाजा बजाउँदै बौद्ध चैत्य परिक्रमा गर्ने चलन शुरु भएको श्रृङ्गभेरी अवदानको किंवदन्तीमा उल्लेख छ । नेवार समाजमा मरेको आत्माको चीर शान्तिका लागि गुंला पर्वमा पराम्परागत बाजा बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । त्यस्तै, मानव अस्तु राखेर चैत्य बनाउने परम्परा समेत अहिले पनि अस्तित्वमा छ ।
 
भाषा वंशावलीमा विक्रमादेव राजाले नेपालका बौद्ध धर्म अनुयाइहरुलाई साउन शुक्ल प्रतिपदा देखि एक महिना सम्म गुंलाधर्म मनाउन आदेश दिएको उल्लेख छ । चैत्य प्रदक्षिणा गरेर, परम्परागत बाजा बजाउँदै नामसंगीति पाठ गरेमा पुण्य सत्धर्म प्राप्त हुने र नरक भोग गरेको आत्माको समेत उद्धार हुने सर्वज्ञमित्रावदानमा उल्लेख छ । परम्परागत बाजा बजाउँदै चैत्यसेवा गर्ने प्रसङ्ग वृष जन्मावदानमा समेत उल्लेख छ । एक्काइस दिन सम्म चोखो बालुवा प्रयोग गरेर बनाइएको चैत्यलाई दैनिक पूजा गरेर त्रि-रत्न शरण र नामसंगीति पाठ गर्दा फल प्राप्ति हुने भनिएको छ । यो समय प्रत्येक बिहान सबेरै प्रज्ञापारमिता, ललितबिस्तर, नामसंगीति पाठ गरेर धाःबाजा तथा परम्परागत नेकू बाजा बजाउँदै बौद्ध बिहार र चैत्य परिक्रमा गर्ने चलन हो ।
 
गुंलाधलं
 
गुंला पर्वमा बाजा बजाएर चैत्य, बिहार र चोक परिक्रमा गरेर मात्र होइन, पृथक ढंगबाट समेत मनाइन्छ । यस्ता, दृश्य भक्तपुर, थिमि र काभ्रेको बनेपामा पछिल्लो समय अस्तित्वमा छ । सवाःलाख चैत्य बनाउने परम्परा अर्थात गुंलाधलँलाई बज्रयानी बौद्धमार्गी नेवारहरुले बचाएका छन् । गुंलाधलँ धार्मिक कार्यक्रममा एक महिना सम्म भगवान बुद्धको उपासना गर्ने चलन छ । धलँ दनेगु धार्मिक कार्यक्रम टोलछिमेकका सम्पूर्ण मिलेर व्यवस्थित गर्छन् । कार्यक्रममा मूख्य संयोजक १, छ वा आठ जना द्यःभारी (भण्डार कोठा संरक्षक), २ महिलाहरुलाई याचिं कोठामा र दुईलाई भारी कोठाको जिम्मेवारी दिँदै गुंलाधलँ कार्यक्रम निर्धारित गरिन्छ । एक महिना सम्म दैनिक रुपमा गरिने बुद्धको उपासना वास्तव मै चुनौतीपूर्ण भएकोले यिनिहरुलाई संयुक्त रुपमा जिम्मेवारी दिनुपरेको हो । द्यःभारी, भारी कोठा र याचिं कोठाका सवालमा सवाःलाख चैत्य बनाउने, धलँ दनेगु कार्यक्रम आयोजना गरिने ठाउँमा हुनुपर्ने एक हिसाबको भण्डार र जिम्मेवार सदस्यहरु हुन् । कार्यक्रम अवधिभर यी ठाउ“ र सदस्यहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
 
नेपाल संवत् तिथि अनुसार दिलागा अमाइ (साउन शुक्लपक्ष औंशी)
 
गुंलाधलँ कार्यक्रम व्यवस्थित गर्न मूख्य जिम्मेवारी वहन गर्नेहरुको भूमिका प्रतिपदाको एक दिन अघिबाट शुरु हुन्छ । बिहान सबेरै नगर नजिकको चार फरक तीर्थस्थल पुगेर कलश स्थापना गर्दै पूजा पश्चात सवाःलाख चैत्य बनाउन आवश्यक पवित्र माटो भएको ठाउ पुग्छन् र पूजाविधि चलाउ“छन् । यस्तो प्रक्रिया सूर्योदय अगाडि गर्नुपर्ने मान्यता छ ।
 
गुंलाथ्व पारु (साउन शुक्लपक्ष प्रतिपदा)
 
एक दिन अगाडि पक्का गरेको ठाउँमा पुगेर साउन शुक्लपक्ष प्रतिपदाको दिन सम्बन्धित सबैको सहयोगमा पवित्र माटो ल्याउ“दै कार्यक्रम आयोजना गरिएको घरको कोठामा भण्डार गरिन्छ । यिनिहरुले ल्याएको पवित्र माटो कार्यक्रम अवधिभर चैत्य बनाउन प्रयोग गरिन्छ । चैत्य बनाउन मूख्यगरी कालो माटो प्रयोग भएको देखिन्छ ।
 
चोखो माटो प्रयोग गर्दै स-साना चैत्य बनाउन धलँ दनेगु कार्यक्रममा सहभागि हुनेले दैनिक स्नान गर्दै ब्रत बसेर मासु, अण्डा, प्याज, नून जस्ता अमय् बस्तु नखाई निराहार बस्छन् । कार्यक्रम अवधिभर सहभागी भक्तजनहरुले बिहान सबेरै पवित्र/चोखो माटो प्रयोग गर्दै चैत्य बनाउँछन् । त्यस मध्ये हरेक हप्ताको बुधवारलाई बुद्धको दिनको रुपमा स्वीकार गरी विशेष रुपमा पूजा पार्थना गर्छन् । सोहि दिन अन्य दिनको तुलनामा भक्तजनहरुको संख्या कार्यक्रम आयोजना गरेको घरमा बढि हुन्छ । पूजाको क्रममा त्रि-काल बुद्ध र बोधिशत्वहरुको गुणस्मरण तथा उहाँहरुलाई आभार व्यक्त गर्दै समर्पित हुन्छन् ।
 
बाजा बनाउनेहरुको टोली (स्थानियभाषामा नासः द्यः) देवतास्थान पुगेर धार्मिक विधि अनुसार पुरोहितबाट पूजापाठ गर्न लगाई परम्परागत नौ बाजा बजाएर नित्यनाथ आव्हान गर्दै ऋतु अनुसारको गीत गाउँछन् । धरतीमातालाई आव्हान गर्दै पस्ता बाजा, प्वङा, पछिमा, धलक, ध्यमायेचा, नाय्खिं, कोखिं, धाः, नगरा, डबडब, भुस्या, ख्वालीमाली आदि बाजा बजाएर नगर परिक्रमा गर्छन् । गुंला पर्व अवधिमा हुने विभिन्न धार्मिक क्रियाकलापमा पूजा आयोजक टोलीको सक्रिय सहभागिता हुन्छ । आफ्नो ठाउँमा आयोजना गरिएको धलँ दनेगु कार्यक्रम सम्बन्धमा जानकारी दिन काठमाडौं उपत्यका र वरपरका विभिन्न नेवार बस्तीमा पुग्छन् । यो चलन एक हिसाबले छिमेकी ठाउँसँगको सम्बन्धबिस्तारसँग जोडिएको छ ।
 
यो वर्ष भक्तपुरको साःकोलन टोलले गुंला ङक धलँ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम अवधिको समयान्तरमा उहाँहरु बनेपा, थिमि, दधिकोट, भक्तपुर कै विभिन्न टोलमा बाजागाजासहित पुग्छन् । आपसी भाइचाराको सम्बन्ध बिस्तार गर्ने चलनको रुपमा लिइएको यो संस्कृतिको निश्चित समयलाई धलँ चाःह्यूवनेगु भनिन्छ । यसको अर्थ फरक ठाउँमा गएर धार्मिकि कार्यक्रमको प्रचारमा गएको भन्ने हुन्छ ।
 
सोही टोली गाईजात्राको दिनमा बाजागाजासहित विशेष रुपमा सहभागि हुन्छन् । विक्रम संवत् तिथि अनुसार भदौ कृष्णपक्ष प्रतिपदाको दिन हुने गाईजात्राको बिहान बाजा बजाउनेको टोलीले वरपरको माहौललाई संगीतमय गर्दै नगर परिक्रमा गर्छन् । ललितबिस्तरमा उल्लेख भए अनुरुप बुद्धले गाईजात्राको दिन बोधिवृक्ष रुखमुनी बसेर कलेशमार, मृत्युमार र देवभार गरी तीन किसिमको विजय प्राप्त गरेको उल्लेख गरेको छ । सोही सम्झनामा गाईजात्राको दिन विजय उत्सवको रुपमा नगर परिक्रमा गरिँदै आएको विश्वास छ । यो पवित्र दिनमा धलँ दनेगु कार्यक्रम सकेर भक्तजनहरु धूप बाल्दै नौ बाजा बजाएर चैत्यलाई खटमा प्रतिस्थापन गर्दै बोकेर नगर परिक्रमा गराउँछन् । यो दिन बाःपूजाको रुपमा खीर चढाउने गरिन्छ ।
 
गुंलागा त्रयोदशी (साउन कृष्णपक्ष त्रयोदशी)
 
पञ्चदानको दिनमा हुने दीपंकर बुद्धको यात्रामा समेत बाजा बजाएर सहभागि हुन्छन् । भक्तपुरमा हुने धलँ दनेगु कार्यक्रमको सवालमा दीपंकर बुद्धलाई सूर्यमढी सम्म पुर्‍याएर साँझ तौमढी टोल पुगेर लिन जाने परम्परा छ । यस्ता क्रियाकलाप एक महिना सम्म निरन्तर चल्छ ।
 
ञलाथ्व पारु अर्थात भाद्र शुक्लपक्ष प्रतिपदा
 
यो दिन गुंला पर्वको धार्मिक कार्यक्रम औपचारिक रुपमा समापन गरिन्छ । बिहान (स्थानिय भाषामा नासः द्यः) देवतास्थानमा आरती गर्दै बाजा बजाउनेको टोली नगर परिक्रमा पश्चात कार्यक्रम आयोजना गरिएको ठाउँमा पुगेर एक महिना सम्मको दैनिकी बाजा बजाउने औपचारिक काम समेत समापन गरिन्छ । पवित्र माटो प्रयोग गरेर बनाइएका सवाःलाख चैत्य वातामा राख्दै भक्तजनहरुले आज कै दिन निकाल्छन् । शाक्यमुनी बुद्धको चैत्यलाई खर्पनमा राखेर स्थानिय भाषामा च्वामोले हम्काउँदै नौ बाजा बजाउँदै नगर नजिकको तीर्थमा बिसर्जन गरिन्छ । यो दृश्य एक प्रकारको भव्य बौद्ध जात्राको रुपमा स्वीकार गर्नसकिन्छ ।
 
भक्तपुरको सवाःलाख चैत्य बनाउने परम्परा वा धलँ दनेगु धार्मिक कार्यक्रममा बनाइएका चैत्य हनुमानघाटमा लगेर बिसर्जन गरिन्छ । हनुमानघाटको त्रिवेणीमा लगेर मू्ख्य संयोजक र अन्य भक्तजनहरुले पुरोहितबाट मंगलपाठ गराउँदै नौ बाजा बजाएर दशकर्म बौद्ध स्तोत्र पछि विसर्जन गरी गुँला पर्वमा नौ बाजा बजाउने कार्यक्रम पनि विधिवत समापन गरिन्छ । स्थानियहरुको संयुक्त पहलमा आयोजना गरिने यस्ता धार्मिक कार्यक्रम वर्षेनी गर्न सक्ने अवस्था छैन । नौ बाजा बजाउने देखि दैनिक रुपमा कार्यक्रम आयोजना गरिने ठाउँ पुगेर बुद्धको उपासना गर्ने र अन्य क्रियाकलाप अहिलेको मूख्य चुनौती हो । व्यस्त दैनिकी र आर्थिक समस्या पछिल्लो समयको मूख्य चुनौती हो ।
 
यसलाई स्थानिय मात्रमा सीमित नगराइ सम्बन्धित पक्षबाट विशेष ध्यान दिनु आवश्यक छ । नेपाल कै शान बनेको पृथक संस्कृति संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने दायित्व राज्य पक्षको हो । त्यसैले स्थानिय सरकार, गुठी संस्थान, पुरातत्व विभाग, नाट्य प्रतिष्ठान देखि आवश्यक अन्य विभागले चासो दिनु उचित होला । समय मै ध्यान नदिए “एका देशको कथा” हुन बेर लाग्दैन ।
 
(विभिन्न महापूराण, बौद्ध ग्रन्थ, किताब र सम्बन्धित बुद्धिजीवीहरुसँग छलफलको आधारले तयार गरिएको सामग्री ।)
साभार इमेज खबर डटकम
2 months ago/Wednesday, July 26th, 2017/