लुम्बिनी गुरु योजना पुरा हुन कम्तीमा ४३ बर्ष लाग्ने

दिपेश पछाई

निमार्ण सुरु गरेको १० बर्षमा सक्ने गरी तयार गरीएको लुम्बिनी गुरु योजना पुरा हुन कम्तीमा ४३ बर्ष लाग्ने भएको छ ।
गुरु योजना निमार्ण भएको ४० बर्षको अवधिमा ८० प्रतिशत काम सम्पन्न भएको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको गुरु योजना सम्पन्न गर्न अझै २० प्रतिशत काम बांकी छ । २० प्रतिशत काम सम्पन्न गर्न लुम्बिनी बिकास कोषलाई अब दुई देखी तिन बर्ष लाग्ने लुम्बिनी बिकास कोषका सदस्य सचिव अजित मान तामाङ्गले बताए । लुम्बिनीमा दक्ष जनशक्ती र प्रयाप्त बजेट रहेको खण्डमा अबको दुई देखी तिन बर्षमा गुरुयोजना पुरा हुने छ यदि प्राबिधीक जनशक्ती र बजेट अभाव भएको खण्डमा यो लम्बीन पनि सक्ने तामाङ्गले बताए ।
नेपाल सरकारले छिटो रुपमा बांकी काम सक्न कोषलाई निर्देशन दिए पनि कर्मचारी अभावका समयमै काम सकिन गाह्रो रहेको सदस्य सचिव तामाङ्गले बताए । ६ वटा महत्वपुर्ण प्रशासनिक भवन निमार्णका लागी कम्तीमा पनि १५ जना ईन्जीनयर आबस्यक पर्दछ तर कोषमा तिन जना बाट काम चलाउनु परेको अवस्था छ , यसले गर्दा काममा ढिलाई हुने देखिन्छ तामाङ्गले भने ।
जापानी वास्तुकलाविद केञ्जो टाँगेले सन् १९७८ मा लुम्विनी गुरुयोजना बनाएका थिए । गुरुयोजना ७ सय ६८ हेक्टर अर्थात ३ वर्गमाइल क्षेत्रमा फैलीएको छ । १९८५ बाट निमार्ण सुरु गरी १९९५ मा सक्ने गरी गुरु योजनाको काम सुरु भएको थियो । गुरु योजना सक्नका लागी केन्जो टागेले ५५ मिलीयन डलर बजेट आबस्यक हुने उल्लेख गरेका थिए । समयमा काम नहुदा डलर र निमार्ण सामाग्रीको मुल्य बृद्धी हुदै जांदा बजेट बृद्धी हुदै गएको कोषका पदाधिकारीहरु बताण्छन् । उक्त योजना पुरा भए पछि सरकारले लुम्बिनीमा बार्षिक १० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ ।
केन्जो टांगेले गुरु योजना तयार गर्दा अनुमानीत बजेट ५५ मिलीयन डलर उल्लेख गरेका थिए । तर कछुवाको गतिमा गुरुयोजनाको काम हुनाले समग्र गुरु योजनाको निमार्ण कार्य सकिदा सम्म १० अर्ब रुपैया भन्दा बढी खर्च हुने देखीएको छ । गुरु योजना पुरा गर्नका लागी लुम्बिनी बिकास कोषले हाल सम्म साढे पांच अर्ब रुपैया खर्च गरीसकेको छ । ८० प्रतिशत काम सम्पन्न गर्नका लागी पांच अर्ब रुपैया खर्च गरेको लुम्बिनी बिकास कोषले बांकी काम सक्नका लागी पनि त्यतीनै बरावर पांच अर्ब रुपैया खर्च हुने अनुमान गरेको छ ।
पवित्र उद्यान, मोनाष्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रुपमा लुम्बिनीको विकास गरिदै छ । पवित्र उद्यानमा मायादेवी मन्दिर, तलाउ र शान्ति बगैचा, मोनाष्ट्रिक जोनमा ४२ वटा देशका आ–आफ्ना संस्कृति झल्कने विहार र न्यु लुम्बिनीग्राममा बसपार्क, होटल, आवास लगायतका संरचना हुनेछन् ।
चार भागमा विभाजित लुम्विनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणका काम सकिएका छन् । उद्यानलाई परिक्रमा गरेको पोखरी , पोखरीको वरिपरि रहेको भिरालो जमिनमा दुवो,फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम , पोखरीको डिलमा बनेको परिक्रमा पथमा ईंटा छाप्ने काम पनि पुरा भएको छ ।
पवित्र उद्यान क्षेत्र भित्र करिव ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुइवटा पोखरी र त्यसको छेउंमा आकर्षक मिनि पर्यटक सूचना केन्द्र सकिएको छ ।
पूर्वी विहार क्षेत्रमा १३ वटा मूलुकहरुले आकर्षक विहारहरुको निर्माण पुरा गरेका छन् । पश्चिमी विहार क्षेत्रमा केही विहारका निर्माण काम जारी छन् । २९ मध्ये २६ वटा मुलुकहरुले विहार निर्माण गरिरहेका छन् । विहार क्षेत्रमा केन्द्रिय नहरको दायांबायां अत्याधुनिक सुविधासम्पन्न चार वटा शौचालय बन्नेछन् । एउटा शौचालय निर्माणमा ५० लाख लगानी गरिनेछ । बसपार्कमा थप एउटा शौचालय बन्नेछ ।
न्यू लुम्विनी भिलेज क्षेत्रमा भने निर्माणका ठूला काम वांकी छन् । चालु आर्थिक वर्षदेखि यस क्षेत्रका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य शुरु भएको छ । पर्यटक सूचना केन्द्र र लुम्विनी विकास कोषको प्रशासनिक भवन निर्माण शुरु भएको छ । सञ्चालनमा रहेको म्यूजियमको शैलीमा यस्ता ८ वटा भवनहरु बन्ने छन् । जस मध्ये २ वटा सकिएका छन् । बैंक,प्रहरी,उपचार भवन,ट्राभल एजेण्ट र रेष्टुरेष्टका लागि यस्ता भवनहरु बन्नेछन् ।
लुम्विनी गुरुयोजना भित्र विहार क्षेत्रमा सवैभन्दा बढी १ अर्व ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा विहारहरु नेपालले निर्माण गरेको छ । सवैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनी विहार निर्माणका लागि ति मुलुकहरुले ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले १० करोड २५ लाखको लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै २२ करोड लगानी हुने अनुमान छ ।
यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्विनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तरराष्ट्रिय संस्था रेयूकाइले ३० करोड ८० लाखको लागतमा अन्तरराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै २ अर्व ३५ करोड ५२ लाखको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् ।
लुम्विनीको सवैभन्दा बढी सुन्दर,आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख लगानी गरिएको छ भने मायादेवी मन्दिर निर्माणका लागि ७ करोड रुपियां लगानी भएको थियो । गुरुयोजना अनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न ५२ करोड रुपियां लाग्ने अनुमान छ । त्यस्तै लुम्विनीको मेरुदण्ड मानिने केन्द्रिय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो । यहां गुरुयोजना अनुसार बांकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण,विद्युतीय ब्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि २ अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ ।
कोषका सदस्य सचिब अजितमान तामाङ्ले लुम्विनीको सुन्दरता थप्न विभिन्न भौतिक निर्माणका काम बांकी रहेपनि यस्ता काममा धेरै रकम खर्च हुने भएकाले सरकारले पर्याप्त बजेट पठाए दुई देखी तिन वर्ष भित्र लुम्विनी गुरुयोजना पुरा गर्न सकिने बताए ।
०००
कोषमा राजनैतिकरण बढी हुदा समस्या  सरोकारवाला
लुम्बिनी बिकास कोष भित्रको आन्तरीक किचलोका कारण लुम्बिनी गुरु योजना समयमै सम्पन्न हुन नसकेको सरोकारवालाहरुको भनाई छ । लुम्बिनी विकाष कोषका पदाधीकारीहरुको एक आपसको किचलोका कारण पनि गुरुयोजनाको कामलाई बाधा परेको छ । प्रतिसप्रर्धात्मक ढंगलले सक्षम व्याक्ति भन्दा पदाधीकारीहरुको राजनीतिक नियुत्ती हुनु, स्थानीय सग समन्वय गरेर काम गर्न नसक्नु , बजेटको अभाव लुम्बिनी बिकास कोषको समस्या हो ।
लुम्बिनीको बृहत्तर विकासका लागि राजनैतिन नियुक्ती भन्दा पनि लोकसेवाबाट आउनुपर्ने सहभागीहरुले सुझाव दिए । लुम्बिनीको विकास र प्रवद्र्धनको जिम्मा पाएको लुम्बिनी विकास कोषले अपनत्व नलिदा लुम्बिनी गुरुयोजनाको काम कछुवा गतिमा भैरहेको सहभागीहरुको भनाई थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजना संगसगै समग्र लुम्बिनी नगरपालिका क्षेत्रको विकासमा जोड दिनु पर्ने आबस्यक रहेको बताए । लुम्बिनीलाई बजारीकरणका रुपमा विकास गर्न भन्दा पनि धार्मिक सांस्कृतीक स्थलका रुपमा विकास गर्नु पर्ने सिंहको भनाई छ । नेपालमा एउटामा सांस्कृतिक नगरपालिका लुम्बिनी सास्कृतिक नगरपालिका रहेको अवस्थामा नगरपालिकालाई धार्मिक रुपमा विकास गर्न लुम्बिनी विकास कोषले नगरपालिका तथा स्थानीय सग समन्वय गर्न आवश्यक रहेको प्रजिअ सिंहले बताए । पदमा बस्ने पदाधिकारी जिम्मेवार नहुदा सम्म लुम्बिनीको विकास हुदैन सिंहले भने ।
गुरुयोजनाको काम लम्बीदा लुम्बिनीको विकास र संरक्षणमा समस्या देखिएको समाजसेवी आमकार गौचनले बताए ।
४० बर्ष देखि हुदै आएको लुम्बिनीको कछुवा गतिको विकास अब २, ३ बर्षमा हुन्छ भन्ने आश मरेको सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । लुम्बिनीको बिकास संग संगै प्रबेशद्धारका रुपमा रहेको भैरहवालाई बृद्धमय बनाउन लुम्बिनी विकास कोषले अवधारणा ल्याउनु पर्दछ नेपाल भारत अबैध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले भने ।
स्थानियहरुलाई पनि लुम्बिनी विकास कोषमा सहभागिता बनाए लुम्बिनीको विकासमा सहयोग पुग्ने उद्योग व्यापार संगठनका केन्द्रीय उपाध्यक्ष मनिष कुमार जोशीको भनाई छ ।

साभार भैरहवा अनलाइन

1 month ago/Tuesday, May 16th, 2017/