थेरवाद बुद्ध धर्ममा प्रवजित महिलाहरुले गरिरहेको संघर्षको स्थिति

अन्य धर्मभन्दा बुद्ध धर्म महिला वा जेन्डरको विषयमा धेरै संवेदनशील छ । बुद्ध धर्मको प्रादुर्भाव नै त्यो बेला भयो जुन बेला विशेष गरी दक्षिण एसियामा महिलामाथि राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक दमन थियो । त्यस्तै, धर्मग्रन्थकै आधारमा महिलामाथि शारीरिक र मानसिक शोषण हुन्थ्यो । यस परिप्रेक्ष्यमा बुद्धले र बुद्ध धर्मले महिलालाई समान स्थान दिएर निर्वाणसम्मको मार्ग खोलिदिएको आजको वस्तुस्थितिमा बसेर हेर्दा त्यसबेलाको पृष्ठभूमिमा प्रशंसनीय कामै हो जस्तो लाग्छ । तर अहिलेको अवस्थामा बुद्ध धर्मलाई जेन्डरको दृष्टिकोणबाट अध्ययन गर्दा त्यहाँ पनि कमीकमजोरी रहेको देखिन्छ । तीमध्ये केही सैद्धान्तिक समस्या छन् । तर धेरैजसो आजका पुरुष धार्मिक अधिकारीहरुको व्यक्तिगत चिन्तनका कारण महिलाहरुले विभेद भोग्नुपरेको देखिन्छ । यहाँ यसबारे छोटो चर्चा गरिन्छ ।
जब सिद्धार्थले बोधिज्ञान प्राप्त गरेर आए, उनी बुद्ध कहलाइए । उनको ज्ञानबाट प्रभावित भएका सयौं पुरुष उनको मार्गमा लागे । यस अवस्थामा जब उनलाई हुर्काउन सानीआमा प्रजापति गौतमीले पनि भिक्षुझै भएर निर्वाण मार्गमा लाग्न चाहिन्, त्यसमा बुद्धले आनाकानी गरे । पछि बुद्धले उनीहरुलाई पनि भिक्षुणी बन्ने त अनुमति दिए, तर केही अतिरिक्त नियमले बाँधेर ।
त्यसबाहेक पनि बुद्ध धर्मका आधिकारिक श्रोतमा यस्ता केही सन्दर्भ भेटिन्छन् जसमा आजको जेन्डर समानताका आँखामा असमानताका रुपमा देखिन्छन् । तीमध्ये धेरैजसोमा महिलालाई दमन गर्नुपर्छ भनेर उल्लेख भएको पक्कै होइन । बरु, महिला र पुरुष सँगै भयो भने उनीहरुमा मायामोह बढ्छ र ज्ञानप्राप्तिमा ढिलाइ हुन्छ भन्ने बुझाइबाट ती सन्दर्भ निर्देशित देखिन्छन् । यसले बुद्धले वा त्यसबेला बुद्ध धर्मको व्याख्या गर्नेहरुले महिलालाई बुद्धले दिएको सैद्धान्तिक समानतालाई नाघेर कतै कुनै किसिमले धर्ममा महिलाहरुको प्रवेशले पुरुषहरु भ्रमित हुने वा धर्मशासनै कमजोर हुने हो कि भनेर शंका गरेको स्पष्ट हुन्छ ।
भिक्षुणी बन्न आउनेहरुले पहिले पालना गर्नुपर्ने भनिएका आठ वटा अतिरिक्त नियम, जसलाई गरुधर्म भनिन्छ, त्यो नै विभेद त हो । तर, त्योभन्दा पनि विभेदकारी थिए त्यसबेलाका पुरुष धार्मिक अधिकार । पुरुष धर्माधिकारीहरु यी आठ नियमको आधारमा महिलालाई अगाडि बढ्नबाट रोक्न चाहन्थे । हुन त बुद्धले बनाएर गएका अरु धेरै वटा नियममा हेरफेर भइसक्यो, तर यी नियमलाई भने उनीहरु अहिले पनि हतियारको रुपमा प्रयोग गर्न चाहन्छन् ।
हुन त आजको अवस्थामा यस नियमको कुनै औचित्य नै छैन किनभने समयले आज थेरवादीहरुले भिक्षुणीको अस्तित्व नै मेटाइसकेका छन् । तर पनि जब जब महिलालाई अधिकार दिनुपर्ने कुरा उठाइन्छ, पुरुष धर्माधिकारीहरु अनायासै यी नियमको प्रसँग कोट्याउन मन पराउँछन् । त्यसकारण ती नियमभन्दा यसप्रति पुरुष अधिकारीहरुको आशक्ति बढी आपत्तिजनक छ ।
बुद्ध धर्ममा भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरुलाई रथका चार पांग्रा सरह समान भनिएको पाइन्छ । तसर्थ भिक्षुणी संघ बुद्ध धर्मको एक अभिन्न अंग हो । तर यो कसैलाई थाहै नदिई लुप्त भएर गयो । बुद्धको समयसम्म एकदम लोकप्रिय, बुद्धले नै प्रशंसा गरेका विदुषी भिक्षुणीहरु बुद्धको अवसानसँगै आश्चर्यजनक रुपमा हराए । पछि लगभग दसौं र एघारौं शताब्दीको बिचमा भिक्षुणी परम्परा थेरवाद बुद्ध धर्मबाटै लोप भयो । कमसेकम थेरवाद निकायमा भिक्षुणी संघ पुनर्जीवित गर्न सकिन्छ भनेर कसैले सोचेन । कसले किन भिक्षुणी परम्परालाई रोके वा कसरी यो बन्द हुन गयो भनेर कुनै बौद्ध विद्वानले पनि स्पष्टरुपमा भन्न सकेको छैन । त्यसपछि कमसेकम प्रवजित बनेर घरबार त्यागेर सम्पूर्ण जीवन धर्ममा अर्पण गरेर समाजलाई बुद्धले देखाएको बाटोमा डोर्याउने काममा पुरुषहरुको मात्र एकाधिकार हुन पुग्यो ।
संसारमा केही शताब्दीदेखि विभिन्न रुपमा महिलालाई पनि प्रवजित हुने वा घरपरिवार त्यागेर जीवनै बुद्ध धर्मको सेवा र अध्ययनमा बिताउने बाटो खोल्ने काम भइरहेको छ । उनीहरुले पुरुषहरुले जस्तै घरपरिवार त्याग्छन्, कपाल खौरिन्छन्, विहारमा सबैसँग मिलेर भिक्षा माग्न जान्छन् वा विहारमा दान दिन ल्याएको थाप्छन् र मोटोमसिनो खान्छन् । तर उनीहरुलाई भिक्षुणी भनिँदैन, अझ धेरैजसो ठाउँमा त सेविकाको रुपमा हेरिन्छ । नेपालको सन्दर्भमा उनीहरुलाई अनागारिका भन्ने गरिन्छ र चलनचल्तीको भाषामा गुरुमां भनेर ससम्मान सम्बोधन गरिन्छ । तीमध्ये कोही कोहीले विशेष भिक्षुणीको दीक्षा लिएर आएका पनि छन् ।
सबैलाई थाहा छ, बुद्धको जीवनकालदेखि नेपाल एक बुद्धभूमि रहिआएको छ । नेपालमै बुद्ध धर्मको प्रारुप र सिद्धान्तमा आमूल परिवर्तन वा परिमार्जन गरिए । नेपालमा लेखिएका थुप्रै बौद्धग्रन्थ विश्वका सम्पूर्ण बौद्धमा अमूल्य निधि हुन् । तर कालान्तरमा करिब १२औं शताब्दीदेखि नेपालमा बुद्ध धर्म र बौद्धहरुको क्षय भयो । बौद्ध धर्मावलम्बीहरुले आफ्नो अस्तित्वकै लागि पनि बुद्ध धर्मलाई हिन्दु धर्मसँग मिसाएर शासकहरुलाई खुसी बनाइराखे । यसभन्दा बाहिर बुद्धले सिकाएको जस्तो मात्र बुद्ध धर्म थेरवादको सन् १९३० तिर पुनर्जागरण भयो । यसै समयमा केही महिला पनि घरबार त्यागेर बुद्ध धर्ममा जीवन बिताउन तयार भए । तर यसरी बुद्ध धर्म मान्नेहरुलाई बाँच्न मुस्किलै भयो, त्यो पनि बुद्ध जन्मेकै देशमा । कहाँसम्म भने सन् १९४३ तिर नेपालका बौद्ध धर्मगुरु भिक्षुहरुलाई देशनिकाला समेत गरियो, बुद्ध धर्मको प्रचार गर्दै हिँडेको अभियोगमा ।
यस्तो अवस्थामा पनि ती गुरुमांहरु आफूहरुले देश छाड्न नपर्नेगरी निवेदन दिएर यहीँ बसे र धर्म प्रचारमा लागिरहे । उनीहरुले घरघरमा गएर बुद्ध धर्मबारे कुरा बुझाउन थाले । बौद्ध समाजलाई क्रियाशील गर्न थाले अनि बौद्ध समाजलाई समाज सुधार र सामाजिक सेवामा प्रोत्साहित गर्न थाले ।
पहिलो चरणमा उनीहरु घरघरमा गएर धर्म प्रचार गर्न हिँडे भने सन् १९६० को दशकदेखि बुद्ध धर्मलाई सामाजिक चेतनाको माध्यम बनाएर प्रचार गरेर हिँडे । सन् १९८० को दशकदेखि तीमध्ये केहीले महिलाहरुले पनि भिक्षुणी बन्न सक्छन् भनेर विभिन्न देशमा गएर भिक्षुणी दीक्षा लिएर आए । यसप्रकार बिस्तारै उनीहरु आफ्नो अस्तित्व, पहिचान र समानताको लागि बोल्न सक्ने भए । उनीहरुले समान किसिमबाट शैक्षिक योग्यता हासिल गरे । थाइल्याण्ड, बर्मा र श्रीलंका आदि देशमा बुद्ध धर्मको उच्चशिक्षा लिएर आएकाले उनीहरुले पनि ती देशमा सरकार र विश्वविद्यालयले पुरुष भिक्षुहरु सरह नै उपाधि लिएर आए ।
समय बित्दै जाँदा अनागारिकाहरुको पनि संख्या बढ्न थालेको छ । पहिले अनागारिकामा नेवारहरुको मात्र बाहुल्यता भएकोमा अहिले तामाङ, मगर, गुरुङ आदि समुदायबाट पनि प्रतिनिधित्व बढ्दै गइरहेको छ । उनीहरुबाट बुद्ध धर्मको प्रचारप्रसार गर्नमा उल्लेखनीय योगदान भइरहेको छ । उनीहरुले आजभोलि धर्म अध्ययन र ध्यानजस्तो अन्तर्मुखी क्रियाकलापमा मात्र नलागी परियत्ति बौद्ध शिक्षा अध्यापन, धर्म शिक्षा, बुद्धपूजा, परित्राणजस्ता कार्यमा पनि समय दिन थालेका छन् । यसका साथै, उनीहरुले ध्यान शिविर सञ्चालन गर्ने, पुस्तक वा लेखरचना लेख्ने, अल्पकालीन प्रवज्याका कार्यक्रम सञ्चालन गर्ने एवं गैरधार्मिक विषयमा समेत अध्यापन गर्ने तथा विद्यालय सञ्चालन र स्वास्थ्य शिविर चलाउने आदि काममा योगदान गर्दै आएका छन् ।
विहारमा उनीहरु सामान्य खालको जीवन बिताउँछन् । उनीहरु गैरधार्मिक वा स्कुल कलेजको शिक्षा पनि ग्रहण गर्छन् । उनीहरुका लागि छात्रवृत्तिमा विदेशमा गएर बुद्ध धर्मको उच्च शिक्षा पढ्ने अवसर पनि छ । सामान्य भए पनि उनीहरुको स्वास्थ्य बिमा पोलिसी छ । व्यवहारमा हेर्दा उनीहरु विहारको काममा धर्म प्रचारको काममा धेरै व्यस्त हुन्छन् । प्राज्ञिक अध्ययन, धर्मको स्वअध्ययन र समाजमा बुद्ध धर्म सिकाउने जिम्मेवारीको तालमेल उनीहरु आफूले नैै मिलाउँछन् । र कुनै कारणवश विहारको अनुशासनमा बस्न नचाहेमा उनीहरुले कुनै पनि बेलामा विहारको जीवन छाडी घरमा सामान्य मानिस सरह वैवाहिक पारिवारिक जीवन बिताउन सक्छन् ।
पहिले स्वाभाविक रुपमा पुरुष भिक्षुहरुले भनेको वा अह्राएको काम गरेर सहयोगीको भूमिकामा सन्तुष्ट रहेका अनागारिका गुरुमांहरुमध्ये अहिले विशेष गरेर युवा र शिक्षितहरुको अग्रसरता बढ्दो छ । उनीहरुले आफूमा त्यत्तिकै क्षमता भएता पनि, बुद्ध धर्ममा सैद्धान्तिक रुपमा समान ज्ञान भएता पनि केही अहं भएका पुरुष भिक्षुहरुका कारण विभेद झेल्नु परेको महसुस गर्न थालेका छन् । तर पनि आन्तरिक अनुशासनको कारणले र आफूलार्ई शारीरिक र मानसिक रुपमा क्षति नै पुग्ने तहसम्मको विभेद वा हिंसा नभएकोले उनीहरु यसबारे खुलेर बोल्न चाहिरहेका छैनन् ।
अहिले नेपालका थेरवादी विहारमा भएका गुरुमांहरु तीन किसिमका छन् । पहिलो पुस्ताका गुरुमांहरु आफूलाई भिक्षुहरुको सेवकका रुपमा स्वीकार गर्छन् । दोस्रो पुस्ताका गुरुमांहरु पुराना भिक्षुहरुलाई सम्मान गरेर युवा भिक्षुहरुसँग सहकार्य गर्न चाहन्छन् । त्यसबाहेक तेस्रो पुस्ताका युवा र शिक्षित गुरुमांहरु भने आफूलाई भिक्षुहरुले विभेद गरेको भन्ने भावना लिई आफूलाई पनि भिक्षु सरह नै व्यवहार गरियोस् भन्ने चाहना राख्छन् ।
यस्तो अवस्थामा जेष्ठ गुरुमांहरु यस्ता सानोतिनो घटना वा व्यक्तिगत बानीव्यवहारको कारणले हुने असमझदारीलाई ठूलो रुप दिनु हुँदैन भन्ने पक्षमा रहेका छन् । यस विषयमा विहारमा नियमित जाने, आवश्यक सहयोग गर्ने उपासक÷उपासिका र यस्तो वस्तुस्थितिबारे जानकारहरु पनि अहिलेको स्थितिलाई जस्तो छ त्यस्तै स्वीकार गर्ने र गराउने मनस्थितिका छन् ।
नेपालको थेरवाद बुद्ध धर्ममा भिक्षुणीहरुको योगदान धेरै भएता पनि त्यसबारे पुस्तक र लेखरचना राम्रोसँग लेखिएका छैनन्, उनीहरुको योगदानको सही अभिलेखीकरण भएको छैन । यी गुरुमांहरुलाई अहिले विशेष गरेर उच्चतहमा पुगेका भिक्षुहरुबाट धर्म अध्ययन र प्रचारप्रसारमा सक्रिय रुपमा संलग्न हुन प्रोत्साहन दिइनु त्यत्तिको खाँचो छ ।
यस्तो अवस्थामा भिक्षुहरुले हाल अध्ययनरत शिक्षित गुरुमांहरुको योग्यताको कदर र प्रोत्साहन गर्नु जरुरी छ, उनीहरुलाई आफ्नो क्षमता देखाउन अवसर जुटाउनु आवश्यक छ । र गुरुमांहरुले पनि यसै अवस्थामा धर्म क्षेत्रमा आफ्नो योग्यताअनुसाको सेवा र योगदान दिनु आवश्यक छ । साथै शिक्षित र महिला पुरुष समान हुन् भन्ने विश्वव्यापी धारणालाई आत्मसात गर्ने नयाँ पुस्ताका युवाहरुले पनि अब गुरुमांहरु पनि अवसर पाएमा पुरुष भिक्षु सरह नै नेपालको बुद्ध धर्मलाई देशभरि मात्रै होइन, विश्वभरि नै फैलाउने काममा योगदान दिन सक्छन् भनेर निश्चित हुनु आवश्यक छ ।
(प्रस्तुत लेख लेखकको थेरवाद बुद्ध धर्मको स्नातकोत्तर तहको शोधपत्रको सारांश हो )
1 week ago/Tuesday, May 16th, 2017/