बुद्ध नचिन्नु भूल

भिक्षु कृष्णमान

चार महान् विश्व प्रसिद्ध तीर्थस्थलहरू हुन्- बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल बोधगया, धर्मचक्र प्रवर्धन स्थल सारनाथ, महापरिनिर्वाण स्थल कुशीनगर । यी चार पावन तीर्थस्थलमध्ये बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख एवं महत्वपूर्ण मानिन्छ । किनभने बुद्ध दर्शनको उद्गम स्थल नै लुम्बिनी उद्यान हो, जहाँ गौतमबुद्धको जन्म भयो वैशाख पूर्णिमाको दिन । बुद्धले आजकै दिन बुद्धत्व प्राप्त गर्नुभएको र आजकै दिन देह त्याग गर्नुभएकाले बुद्ध जयन्तीलाई त्रियोग महोत्सवको नामले पनि पुकार्ने गरिन्छ । लुम्बिनी बुद्धको जन्मस्थल भएकाले नै बौद्ध इतिहासमा नेपालले अद्वितीय स्थान हुन पुगेको हो ।

बुद्धको जन्मस्थलमा तीर्थाटन हुन सकोस् भनेर प्रसिद्ध आध्यात्मिक गुरु उपगुप्ताले मौर्य सम्राट् अशोकलाई सल्लाह दिएका थिए । त्यही सल्लाहअनुसार उहाँ लुम्बिनी आउनुभयो र उहाँकै आदेशमा पाषाण स्तम्भ निर्माण भयो, जहाँ शीलालेख कुँदिएको छ ।अशोक स्तम्भमा कुँदिएको शिलालेखमा लेखिएको छ, ‘देवताहरूका प्रियदर्शी सम्राट् अशोक राजाको राज्याभिषेकको २० वर्षमा आफैं आएर (यहाँ बुद्ध शाक्यमुनि जन्म भएकाले) पाषाणको एउटा प्राचीन शिला स्तम्भ स्थापना गर्नुभयो । लुम्बिनीलाई ग्राम अष्ट भागीयको रूपमा करमुक्त गरियो ।’

बुद्धको जन्म

मायादेवी कपिलवस्तुबाट आफ्ना दलबलसहित देवदहतर्फ लाग्नुभयो । उतिबेला प्रथम बच्चा आफ्नै माइतीघरमा जन्माउनुपर्ने चलन थियो । बीच बाटोमा रहेको लुम्बिनी उद्यान पुग्दा मायादेवीलाई प्रशव वेदना भयो । मायादेवीले उद्यानसँगै रहेको पुस्करनी तलाउमा स्नान गर्नुभयो । स्नान गरिनसक्दै उहाँलाई चरम प्रशव वेदना भएछ । त्यसपछि उहाँले एक हातले रूखको हाँगा समात्नुभयो अनि आफ्नै कोखबाट अलौकिक तेजश्वी बच्चालाई हर्षविभोरका साथ जन्म दिनुभयो । त्यतिबेला उहाँलाई स्वागत गर्न ब्रह्मासहित अन्य देवीदेवता उपस्थित भएका थिए । बुद्ध जन्मबारे कोरिएको शिला मायादेवी मन्दिरमा सुरक्षित छ ।
चिनियाँ तीर्थयात्रीहरू फाइहान र हुयेन साङले लुम्बिनी उद्यानमा अवलोकन गरेका थिए । बुद्ध जन्मबारे चित्रण गरिएको शिला (बुद्ध जन्म पाषण मूर्ति) मा पुष्करनी तलाउ, अशोक स्तम्भ र तेलार नदी आदिको बारेमा वर्णन गरिएको छ ।

बुद्ध जन्मस्थलको प्रमाणित चिह्न अशोक स्तम्भ, शिला र यस अतिरिक्त मायादेवी मन्दिर हुन् । मन्दिर भत्काएर उत्खनन गर्दा प्राप्त भएको मार्कर स्टोनले लुम्बिनी बुद्ध जन्मस्थल हो भन्ने पूर्णरूपमा अंकित÷प्रमाणित गरेको छ । मार्कर स्टोनको संरक्षण गर्न मायादेवी मन्दिरको उद्गम या पुनर्निर्माण गरिएको हो ।

बुद्धका उपदेशहरू बहुजनले अनुशरण गर्न पाऊन् भन्ने उद्देश्य राखी मौर्य सम्राट् अशोकले एसियाली देशहरूमा शिला र स्तम्भ कुँदेका थिए । त्यहाँ कुँदिएका बुद्ध वाणीलाई ती देशका वासिन्दा आफ्नो जीवनयापनमा समाहित गराउन सफल भएका थिए । तर बुद्ध उपदेशलाई आम नेपाली जनले बुझ्ने प्रयत्न गरेनन् भन्ने गुनासो दुईजना भारतीय बौद्ध दार्शनिकमध्ये रजनिसले यसरी पोख्नुभएको छ :

 

-नेपालका हिमालयहरू प्रदूषित हुन पाएका छैनन् । नेपाली हिमशिखरहरू प्राकृतिक सुन्दरताले भरिपूर्ण देखिन्छ, जसको अवलोकनबाट जोकोही पनि आध्यात्मिक आनन्दमा डुब्न सक्छन् ।नेपालीहरू कलुषित छैनन् । उनीहरूमा निर्दोषपन छ र आँखामा सरलता छ । तर यी दुवै गुणहरू संसारबाट बिदा हुँदैछ । आफ्नै माटोमा जन्मिएका बुद्धलाई चिन्ने प्रयत्न नेपाली जनताले गर्न सकेनन् । उहाँ अगाडि भन्नुहुन्छ, ‘नेपाली गरिब हुनुको एउटा कारकतत्व बुद्धलाई चिन्न नसक्नु हो, जुन ठूलो भूल हो ।’

यसै सिलसिलामा एक भारतीय उर्दू कवि इकवाल भन्नुहुन्छ :
कौमने पैमाने गौतम कि जरा पर्वाह नकी
कद्र पहचानी नअपने गौहरे एक दाना कि
शमाए गौतम जलरहिहै महिफिले अगियारमे ।

बुद्धत्व संसारभर फैलिएको छ । समय जति गुज्रिँदै जान्छ, बुद्धको महत्व र उनका वाणी त्यत्ति नै आकर्षित हुँदै गइरहेको छ । नेपाली जनता र नेपाल सरकारले बुद्ध चिन्न लागिपरेमा बुद्धत्वको तेज बढेर जानेछ ।

साभार : अन्नपुर्ण पाेस्ट,  बैशाख २७, २०७४

 

6 months ago/Saturday, May 13th, 2017/