कर्मकर्ग्यु बौद्ध परम्परा

डा. रमेश ढुंगेल

हिमाली बौद्ध परम्पराका चार मुख्य उपसम्प्रदायमध्ये कर्ग्युपा दोस्रो स्थानमा पर्छ। सातौँ शताब्दीदेखि भोटमा बौद्ध परम्परा सुरु भएको हो। ११औँ शताब्दीमा कादम्पा हुँदै यस कार्ग्युप सम्प्रदायको थालनी नहुँदासम्मको पूर्वरूप वा थालनी युगको परम्परालाई निङ्मपा अर्थात् ‘पुरातन पद्दति’ को रुपमा चिनाउने चलन बस्यो। कर्ग्युपाको अर्थ बुद्ध वचनको मूल रूपलाई अपनाउने पद्धति हो। यस पद्धति लगत्तैपछि विकसित परम्परालाई सक्यपा भनिन्छ। जसको अर्थ हुन्छ, खैरो भूमि भएको ठाउँको गोन्पामा विकसित परम्परा। त्यसपछि १६औँ शताब्दीमा तिब्बतका वरिष्ठ विद्वान् लामा जे चोङखपद्वारा गादेन फोडाङ नामक गोन्पामा परिमार्जित तथा विकसित शास्त्रीय विशिष्टताको परम्परालाई गेलुगप भनिन्छ, जसको मठाधीश केही पछि दलाई (मंगोल भाषाको तले वा दले) लामालाई मान्ने चलन चलेको हो।

कर्मपा के हो?

कर्ग्युपाको मूल मठाधीशको रूपमा ग्यल्वा कर्मपालाई मानिन्छ र कर्म–कर्ग्युप आफैंलाई चाहिँ कर्ग्युपका अनेकौंमध्ये एउटा मूल हाँगा मानिन्छ। कर्मपाबाहेक गेदेन, दाग्पो, डिगुङ, डुगप, श्याङ्प, ढागकार आदि हाँगाको रूपमा कर्ग्यु सम्प्रदायका केन्द्र स्थापित भएका छन्। कर्ग्युप परम्परामा अत्यन्त आदर साथ मगधका महापण्डित सिद्ध तिलोपालाई आदिबुद्ध बज्रधर अर्थात् तिब्बती बोलीमा दोर्जेछाङ्को रूपमा लिइन्छ। यिनै महासिद्ध तिलोपा र उनका वरिष्ठतम् चेला महासिद्ध नाडपाद (नारोपा)ले विकसित गरेको तान्त्रिक परम्परामा आधारित छ, कर्म कार्ग्यु परम्परा। यसलाई तिब्बतमा ल्याएर परिमार्जन र विकास गर्ने काममा तिब्बतका महापण्डित अनुवादक (लोचावा) मार्पा तथा गम्पोपाहरूको विशेष देन छ। त्यसैगरी योगी र कवि लामा जेचुन् मिलरेपाको पनि यस परम्परामा भूमिका छ। उत्तर भारतको मगधका ८४ सिद्धमध्येका तिलोपा, नारोपा जस्ताको तान्त्रिक सिद्ध परम्पराको ज्ञानलाई मार्पा, गम्पोपा, मिलारेपाहरूले तिब्बतमा प्रचार गरेको हुनाले तिब्बत र हिमालयको कर्ग्यु परम्परामा भारतको सिद्ध तथा अन्य संस्कारगत र शास्त्रीय प्रभाव निकै परेको देखिन्छ। यो पनि एक मूल कारण हुन सक्छ, कर्मकर्ग्युको छुर्फुग मठबाट प्राचीन भारतमा प्रचलित अवतारवादको चलन भोटको बौद्ध परम्परामा पहिलोपल्ट थालनी भएको। कर्मापाको अर्थ बुद्धचर्या वा तथागत निर्देशित बाटोलाई प्रधानता दिने भन्ने हुन्छ। कर्म कर्ग्युको थालनीभन्दा अघिको पुरातन परम्परा अर्थात् निङ्मपाको परम्परामा अनेक स्थानीय मान्यता र विश्वासलाई समेटेर बौद्ध धर्मलाई भोटमा लागू गरिएको हुँदा र बोन आदिको विद्रोहका कारण विकसित हुँदै गरेको बौद्ध परम्परामा झन् विचलन र विकृतिको अवस्था आइरहेकाले नवविकसित कर्ग्युको अवधारणामा बुद्ध वचनमा निर्देशित कर्मलाई विशेष जोडका साथ मान्यता दिएर बौद्ध परम्पराको पुनरोत्थानको आवश्यकताको महसुसको प्रतिफल नै तिब्बतमा कर्मकर्ग्युको प्रादुर्भाव हो। कर्ग्युपका सर्वोच्च मठाधीशलाई कर्मपा भनेर सम्बोधन गर्ने औपचारिकता मंगोल बादशाहबाट भएको हो, जसरी गेलुगपका अवतारी मठाधीशलाई ‘तले र दले लामा’ अर्थात् सागर समानका शान्त र व्यापकता भएका गुरुको रूपमा सम्बोधन र आदर गर्ने काम पछिका मंगोल बादशाहबाट भयो।

ल्हासाभन्दा उत्तरमा छुर्फुग कर्मकर्ग्यु परम्पराको पहिलो गोम्पा हो र तिब्बत चीनको स्वशासित क्षेत्र नबनुन्जेल यसैबाट सारा कर्ग्यु सम्प्रदायको नेतृत्व चल्ने गर्थ्यो। मूल बुद्ध वचनबाट प्राप्त ज्ञान र करुणालाई प्राचीन तान्त्रिक तथा विद्वान् सिद्धले जस्तै शारीरिक अभ्यास, बुद्धि, विवेकसहितको कर्म, साधना र योगका आधारमा आफ्ना शिष्यमार्फत सारा प्राणी जगत्को कल्याण र उद्धारका निम्ति पृथ्वीमा पुर्‍याउने महान् जिम्मेवारीका रूपमा ग्याल्बा कर्मपा लामा रिन्पोछेलाई सम्मान गर्ने परम्परा छ। विभिन्न बौद्ध सूत्र तथा तन्त्रमा भगवान् बुद्ध स्वयंले उता महाभारतको भगवद् गीतामा भगवान् कृष्णले ‘यदायदाही धर्मस्य ग्लानिर्भवति भारतः अभ्युत्थानमधर्मस्य सम्भवामि युगे युगे’ अर्थात् ‘जहिले–जहिले यस जगत्मा धर्म नष्ट हुनेछ, अधर्मलाई नाश गरेर धर्मको उत्थानका निम्ति म आफैँ अवतरण भई आउनेछु’ भने जस्तै ‘मेरो महापरिनिर्वाणको दुई हजार वर्षपछि रातो वर्णयुक्त मानव जातिको भूमिमा (मैले प्राप्ति र व्याख्या गरेको) धर्म पैदा हुनेछ र जहिले त्यस भूमिमा ज्ञान र सद्गुण लोप हुनेछ, त्यसबेला कर्मपा नाममा सिंहनाद गर्न सक्ने बोधिसŒव करुणामयको रूपमा मेरो अवतरण वा प्रादुर्भाव हुनेछ र आफ्नो अलौकिक साधनाको शक्तिद्वारा धर्मको पुनर्स्थापना गरी सचेत प्राणी मात्रलाई सांसारिक दुःख र भयबाट मुक्त गराउने काम हुनेछ। उक्त करुणामय रुपको दर्शन, वाणी, स्पर्श र उनीप्रतिको श्रद्धापूर्वक चिन्तनबाट मानवले शान्तिको वास्तविक सत्यबोध गर्नेछन्’ भनेर तथागत बुद्धले भविष्य वाणी गरेको चर्चा पाइएको छ। त्यसैगरी समाधिराजसूत्र, लंकावतारसूत्र, मञ्जुश्री मूलकल्प, पद्मसम्भवका तेर्मा ग्रन्थ आदिमा पनि कर्मपाको रूपमा बोधिसŒव भएर बुद्धको अवतरण हुने चर्चा छ। बुद्ध उपदेशलाई फैलाउन भद्रकल्पको छैटौं बुद्धको रूपमा कर्मपाको प्रादुर्भाव हुनेछ भन्ने उल्लेख भएकाले नै छैटौं बुद्ध–दुग्चा साङ्गेको रूपमा प्रथम कर्मपा दुस्युम खेन्पाको भोटमा (रातोवर्णका मानव जातिको भूमिमा) अवतरण भएको हो भन्ने मान्यता सारा कर्ग्यु सम्प्रदायमा व्यापक छ।

श्यामर्पा र अरु सहयोगी रिन्पोछे

कर्मपाका विशेष शिष्य तथा धर्म प्रचार र संवर्धनको जिम्मेवारी लिँदै प्राणी उद्धार निम्ति सहयोगीको रूपमा श्यामर्पा रिन्पोछे, ताईसितुपा रिन्पोछे, गोसिर ग्याल्छाव रिन्पोछे, जाम्गोन कोङ्टुल रिन्पोछे, ढुपोन दाछेन रिन्पोछे आदिको समेत प्रादुर्भाव र व्यवस्था मिलाइएको देखिन्छ। यीमध्ये श्यामर रिन्पोछेलाई रातो श्रीपेचवाला दोस्रो कर्मपाकै स्थानमा सम्मान गर्ने र कहिले ग्यल्वा कर्मपाका चेला र कहिले गुरुको स्थान लिने, कहिले एकै आत्माका दुई शरीर (यहाँ पनि हिन्दूको हरिहरको प्राचीन परिकल्पनाजस्तै) को रूप तथा कहिले पितापुत्र वा दाजुभाइको रूपमा मान्ने ऐतिहासिक प्रमाण पाइएका छन्।

१७औं कर्मपा अवतरण र खाँडोमा ग्रहण           

कर्मपाको लामो इतिहासमा एकाध विवादास्पद घटनाबाहेक निष्कलंक रूपमा यो संस्थाले धार्मिक र सामाजिक बाटोबाट मानव कल्याणको काममा महŒवपूर्ण भूमिका निभाइरहेको देखिएको छ। हाल १७औं कर्मपा रिन्पोछेको कल्पमा हामीले आशीर्वाद प्राप्त गरिरहेका छौँ। अहिले धर्म आस्थाको क्षेत्रमा लोभ, मोह, इर्ष्याजस्ता भौतिक–संसारिक विकारको अधिक असरको अवस्थामा चेन् रेशिग (अवलोकितेश्वर) को अझ गहन जिम्मेवारी लिएर प्राणी उद्धारका लागि ठिनले थाये दोर्जे वि. सं. २०४० (१९८३) मा कर्मपाको रूपमा तिब्बतमा अवतरण हुनुभएको भन्ने मान्यता छ। कर्मपा र श्यामर्पाको स्थापित परम्परा अनुरूप कर्मपा र श्यामर्पाको अघिल्लो अवतारको शारीरिक अवसानपछि र नवकायमा अवतरण भइनसकेको अवस्थामा एकले अर्कोको नयाँ अवतारको पहिचान गर्ने र धार्मिक मान्यता र परम्पराअनुरूप औपचारिक मान्यता दिने दिलाउने जिम्मेवारी लिने प्रचलन छ। त्यसैअनुरुप १६औँ ग्यल्वा कर्मपा राङ्जुङ् रिग्पेइ दोर्जेले १४औँ श्यामर्पा रिन्पोछेको अवतारको तिब्बतमा पहिचान गर्ने काम गरेको हो। त्यसैगरी २०३८ (सन् १९८१ ) मा १६औं कर्मपाको निर्वाणपछि नयाँ कर्मपाको अवतरणको पहिचानको जिम्मेवारी १४औं श्यामर्पा रिन्पोछे मिफाम छोक्यी लोढोएले लिनुभएको हो र उक्त अवतारको औपचारिक घोषणा र मान्यता पनि २०४८ मा श्यामार रिन्पोछेबाट विद्वान् र वयोवृद्ध शाक्य छार्पा सम्प्रदायका मठाधीश लामा चोब्ग्ये ठिछेन रिन्पोछे लगायत धेरै उच्चकोटीका रिन्पोछे लामाको समेत सल्लाह, सुझाव, समर्थन र परीक्षणमा भएको हो। अब अहिले १५औँ श्यामर रिन्पोछेको अवतारको पहिचानको जिम्मेवारी पनि १७औं ग्यल्वा कर्मपा ठिनले थाये दोर्जेको नै हो, जसको अहिले हामी ३४औं अवतरणको र खाण्डोमा ग्रहण (युम स्हेशि) को उत्सव मनाइरहेका छौं।

ग्यल्वा कर्मपा ठिनले थाये दोर्जे रिन्पोछेको कायिक अवतरण तिब्बतमा निङ्मा सम्प्रदायका निकै उच्च तहका तान्त्रिक लामा मिफाम रिन्पोछे र बौद्ध समाधिकी दक्ष माता देछेन वाङ्मोको कोखबाट भएको हो र उहाँहरू दुवै हालसम्म सशक्त जीवनमै हुनुहुन्छ। कर्मपाको यस १७औँ अवतरणबारे तिब्बतभित्र र आन्तरिक समुदायभित्र भारत र अन्य ठाउँमा पनि गोप्य रूपमा जानकारी भएको भए पनि बाहिर औपचारिक रूपमा खुला नगरिएकै अवस्थामा चिनियाँ अधिकारीका तर्फबाट तिब्बतको खाम प्रदेशको ल्हाथोक जिल्लाको बाकोर गाउँको एक साधारण कृषक परिवारमा जन्मेका एक दोर्जे थिन्ले नामका युवालाई खास कर्मपा भएको तिब्बतमा घोषणा हुँदा २०४० मै अवतरित भइसकेका श्यामर रिन्पोछेले पहिचान गरेका कर्मपा ठिनले थाये दोर्जे र परिवारको समेत ज्यानको सुरक्षामा समस्या देखापरेकाले अनेक सहयोगीको सहयोगमा गोप्य रूपमा तिब्बतबाट परिवारसहित भागेर नेपालको बाटोमै २०५१ मा सिक्किम पुर्‍याइएको र त्यहाँ पनि सुरक्षाको पूर्ण प्रत्याभूति हुन नसक्दा र कर्मपाको मूल गादी र मुकुट रहेको रुम्तेक गोम्पामा आन्तरिक झमेला समेत पर्दा अन्त्यमा भारत सरकारको संरक्षणमा दिल्लीमा पुर्‍याइएको हो। कर्मपा ठिनले थाये दोर्जेलाई तथागत अमिताभ बुद्धको निर्माणकाय वा अवतार (टुल्कु) को रूपमा पनि मानिन्छ र अहिले मूलतः दिल्लीमै अन्तर्राष्ट्रिय कर्मपा केन्द्रमा उहाँको निवास, कार्यालय, गोम्पा तथा एक बौद्ध कलेज समेत छ। पछि चिनियाँ अधिकारीको समर्थन र निर्देशनमा घोषणा गराइएका अर्का युवालाई पनि भगाएर दले लामाको संरक्षण र रेखदेखमा भारतमै राखिएकाले कर्मपाको यस महŒवपूर्ण संस्थामा अहिले आएर केही झमेला देखिएको छ। यसो भए पनि रुम्तेक्को मूल मुद्दा भने श्यामर रिन्पोछे र ग्यल्वा थाये दोर्जेको पक्षमा छिनिइसकेको अवस्था छ।

हालका १७औँ कर्मपा थाये दोर्जेले स्व. तोपगा रिन्पोछे, बौद्ध विद्वान् साम्पा दोर्जे, खेन्पो चोढाग तेंफेल तथा १४औँ शयामर रिन्पोछेबाट बौद्ध धर्म र दर्शन र तन्त्र सम्बन्धित शिक्षा लिनुभएको हो। यसका अलावा विश्व दर्शन र अंग्रेजी र फ्रेन्च भाषाको समेत अध्ययन गर्नुभएको छ। वार्षिक रूपमा बोधगयामा भव्य रूपमा कर्ग्यु मोन्लम प्रार्थना पूजाको आयोजना उहाँको नेतृŒवमा हुँदै आएको छ।

हिजोआज हिमाली बौद्ध परम्परा अन्तर्गतको कर्मकर्ग्यु सम्प्रदायका अनुयायीका निम्ति विशेष धार्मिक–सांस्कृतिक पर्वको बेला हो। यस वर्षको अवतरण (ढुङ्कोर दुछेन)को उत्सवमा एउटा थप सन्दर्भ समेत जोडिएको चर्चा माथि उठाइयो। त्यो हो, ग्यल्वा कर्मपाले भर्खरै घोषणा गरेको भिक्षुव्रतको शील फिर्ता गरी बज्रयानी तान्त्रिक विधिको उपयोगका निम्ति खाडो युम स्हेसी गरेको तथ्यपूर्ण घटना। यसलाई ब्वार्ज्यानी परम्परामा प्रविधि पनि भनिन्छ। यो परम्परा नौलो होइन भन्ने इतिहासले देखाएको छ। गुरु रिन्पोछेले दुई खाडोमा, मार्पा लोचावाले, दशौँ र १५औं कर्मपा, दशौँ श्यामर्पा आदि मठाधीश लामा रिन्पोछेहरूले प्राणी भलाइका निम्ति तान्त्रिक विधिको वास्तविक उपयोग खाण्डो युम स्हेसी गरेका ऐतिहासिक प्रमाण पाइएका छन्। यसलाई ज्येपा थिन्लेको रूपमा शुभकर्मभन्दा बाहिर राखेर हेर्ने गरेको पाइएको छैन। सक्या परम्परामा मठाधीश वंश परम्परामा चल्ने हुनाले मूल गुरुलाई र यसमा निङ्मा सम्प्रदायमा सबैलाई छुट दिइएको देखिन्छ। खालि गेलुग परम्परामा ब्रह्मचर्यको शीललाई अत्यन्त कठोर रूपमा मानिएको छ। सक्यपमा पनि मूल मठाधीश बाहेकलाई युम स्हेसीको छुट छैन। यो परम्परालाई साङ–युम सेगो पनि भनिन्छ। वज्रायानको गुह्यसमाज पद्धतिमा पनि यसको अनिवार्यतालाई स्विकारिएको देखिन्छ। यसो भए पनि हालका ग्यल्वा कर्मपाबाट भिक्षुशील ग्रहणका निम्तिपहिले नै श्यारमिनुवको दुछोगलिङ्का दुपोन् रिन्पोछेबाट लिने तर कर्मपाबाट नलिने आदेश जारी गरेका कारण कर्मपा ठिनले थाये दोर्जेले निकट भविष्यमा भिक्षु शील फिर्ता गर्न सक्ने पूर्वसंकेतको रूपमा हेरिएको छ।

पहिलोदेखि हालसम्मका ग्यल्वा कर्मपा र नेपाल

अहिलेसम्मका कर्मपाहरूमा पहिलो दुसुम खेन्पा (सन् १११०–११९३), दोस्रो कर्म पाक्क्षी (सन् १२०४–१२८३), तेस्रो राङ–ज्युङ दोर्जे (सन् १२८४–१३३९), चौथो राल्पाई देर्जे (सन् १३४०–१३८३), पाँचौं देछेन सेग्पा (सन् १३८४–१४१५), छैटौं ग्तोंङवा दोङ्देन (सन् १४१६–१४५३), सातौँ छोढाग ग्याछो (सन् १४५४–१५०६), आठौँ मिग्यो दोर्जे (सन् १५०७–१५५४), नवौं वाङ्छ्युग दोर्जे (सन् १५५६–१६०३), १०औँ छोयिंङ दोर्जे (सन् १६०४–१६७४), ११औँ येशे दोर्जे (सन् १६७६(१७०२), १२औँ छाङ्छ्युव दोर्जे (सन् १७०३–१७३२), १३औँ दुदुल दोर्जे (सन् १७३३–१७९७), १४औँ थेगछोग दोर्जे (सन् १७९८–१८६८), १५औँ खाक्याव दोर्जे (१८७१–१९२२), १६औँ राङज्युङ रिग्पाई दोर्जे (१९२४–१९८१), १७औँ ठिनले थाये दोर्जे (१८८३) हुन्। यीमध्ये पहिलो कर्मपा दुसुम् खेन्पा सोझै लोचावा आचार्य गम्पोपाका चेला भएको र भारतीय बौद्ध तान्त्रिक परम्पराको महान् र अत्यन्त प्रचलित महामुद्राका ज्ञाता भएको इतिहास यस सन्दर्भमा उल्लेखनीय छ। त्यसैगरी दोस्रो कर्मपा कर्म पाक्क्षी हिमाली बौद्ध परम्परामा अवतार लिने पहिलो टुल्कु र मंगोल बादशाह कुवलाय खाँको राजगुरु भएको यथार्थ पनि स्मरणीय छ। १२औँ कर्मपाले नेपाल भ्रमण गरेर महामारी नियन्त्रणलगायत जनताका रोग निधान तथा धेरै धर्मदेशना साथै अनेक धार्मिक काम गरेको इतिहास छ।

हाम्रो देश नेपाल हिमालय तथा उपत्यका र आसपासको इलाकामा कर्मपा अन्तर्गतका कर्म कर्ग्यु तथा अन्य कर्ग्यु परम्पराको सयौँ वर्ष लामो र व्यापक प्रभाव रहेको इतिहास छ। अहिलेसम्म कर्मकर्ग्यु लगायत विभिन्न कर्ग्य तथा कार्ग्यु (निंङ्मा मिश्रित परम्पराका समेत गरेर सयौं गोम्बा तथा अन्य धार्मिक–सांस्कृतिक संस्था र मूर्त–अमूर्त धरोहर यस देशमा कायम रहेको यथार्थ छ। कर्मपाको इतिहासमा १३औँ कर्मपाले आठौँ श्यामर्पाका पिता ङ्गछ्यांङ् छेन्पो कर्मगुरु रिन्पोछेको अवतारको रूपमा योल्मोका ढोगेन छोक्यी ग्याल्पो (यर्लुंङ वंशका) लाई पहिचानसहित आधिकारिकताको प्रमाण छाप पनि दिएको इतिहास छ। अहिले नागार्जुन फेदी रानीवनस्थित श्यामर रिन्पोछेको विशाल श्यार मिनुव नामक केन्द्रको सहित सयौं नेपाली गोन्पाको र विश्वमा छरिएका हजारौं केन्द्रको जिम्मेवारी वर्तमान १७औं ग्यल्वा कर्मपा ठिन्ले थाये दोर्जेमै निहित छ। असाधारण प्रतिभाका धनी १६औँ ग्यल्वा कर्मपाको अपार कर्मअन्तर्गत नेपाल–भारतसहित संसारमा फैलिएको कर्मकर्ग्यु परम्पराको ख्याति र केन्द्र विस्तारको अवस्थाको अत्यन्त ठूलो जिम्मेवारी १४औँ श्यामर्पा रिन्पोछेको दुई वर्षअघि भएको असामयिक निर्वाण प्राप्तिपछि एकैचोटि वर्तमान ग्यलव कर्मपा ठिनले थाये दोर्जेमाथि थोपरिन पुगेको छ। यस जिम्मेवारीमा धार्मिकबाहेक अनेक प्रबन्धकीय र सामाजिक काम थपिएको हुँदा खाण्डोमा वा साङ्युम स्हेशी ग्रहणको कर्मले संस्थागत तथा सन्तुलित धार्मिक व्यवस्थापनमा कर्मपा रिन्पोछेलाई ठूलो सहायता तथा राहत मिल्ने समेत देखिएको छ। त्यस युगमा शास्त्रीय ज्ञान, शिक्षा, पुस्तक संकलन र निधिको संरक्षणमा सबैभन्दा अग्रनाम कमाएका १५औँ कर्मपा खाक्याव दोर्जेले खाण्डोमा साङयुम ग्रहण गरेर धर्म र जगत्को कल्याणमा अधिक सफलता पाएको इतिहासले वर्तमान कर्मपाको साङयुम ग्रहणको कर्मलाई नकारात्मक रूपमा हेर्नुपर्ने कुनै खण्ड देखिँदैन।

साभार : नागरिक दैनिक, २३ बैशाख २०७४

2 months ago/Friday, May 12th, 2017/