बुद्ध जयन्ती : विश्व ध्यान दिवस

स्वामी आनन्द अरुण

यस पृथ्वीमा जुनसुकै समयमा जागृत पुरुषहरू कहीँ न कहीँ अवश्य हुन्छन् । उहा“हरूकै ऊर्जा, करुणाले देखाएको मुक्तिमार्गले यो दुःखैदुःख र सन्तापले भरिएको मनुष्यको जीवन चलिरहेको छ । मानिसले शान्ति र सुखको खोजीमा लाग्ने प्रेरणा पनि पाएको छ । यदि बुद्ध पुरुषहरू भएनन् भने यो संसारले यति हिंसा, पीडा, विशाद, विध्वंश र बेहोसी सहनै सक्दैन । तर यस्ता बुद्ध पुरुषहरूको लामो शृंखलामा कोही कोही यस्ता बुद्ध हुन्छन् जसले सम्पूर्ण मनुष्यताको संस्कृति, धर्म र सोचाइमा एक आमूल परिवर्तन ल्याइदिन्छन् र तीर्थंकर बन्छन्, घाट बन्छन् जसले त्यो दुःखको भवसागरबाट मुक्तिको मार्ग देखाउँछन् । जसको वरिपरि हजारौं साधक जम्मा हुन्छन् र उहा“को सान्निध्यमा जागरण पथमा लाग्छन् र जागृत पनि हुन्छन् । यसरी जागृत पुरुषहरूको एक शृंखला बन्छ । बुद्ध त अनेक हुन्छन् तर अरुका लागि बुद्धत्वको मार्ग बनाउने र प्रेरणा दिने बोधिसत्व बुद्ध विरलै हुन्छन् । त्यस्तै एक तीर्थकंर भगवान् बुद्धको आज जन्म, सम्बोधि र महापरिनिर्वाणको दिन हो । एकै तिथिमा जन्मिएको, निर्वाण प्राप्त गरेको र शरीर छाडेर महापरिनिर्वाणमा प्रवेश गरेको यो घटना पनि आफँैमा विरलो छ । मैले देखेसम्म यस्तो उदाहरण स्वामी रामतीर्थको जीवनमा पाइन्छ जो कार्तिक औसी दीपावलीको दिन जन्मे, पछि गएर त्यही तिथिमा बोध प्राप्त गरे र मात्र ३३ वर्षको उमेरमा सोही तिथिमा शरीर छाडे ।

सबै धर्म, संस्कृति र जातिको बुद्धप्रति समादर छ । गैर बौद्धहरूको घरभित्र र बगंैचामा पनि बुद्धको प्रतिमा सजिएको पाइन्छ । बुद्धको शान्त भाव, आसन र हातका मुद्राले पनि बुद्धको करुणा, प्रज्ञा र समाधिको झलक दिन्छ । यो देख्नासाथ पनि मानिसको चित्तमा एक शुद्धता, पवित्रताको सञ्चार हुन्छ । यो बुद्धको शिक्षणको सार्वलौकिक विजय हो ।

आज बुद्ध सुन्दरता, कला र शान्तिको प्रतीक हुनुभएको छ । बुद्धको धर्म २५ सय वर्ष भइसक्यो तर त्यो अहिले पनि त्यत्तिकै ताजा र नवीन छ । किनभने बुद्धले एक विश्लेष्णात्मक धर्म दिनुभयो । मानेर भन्दा पनि जानेर धर्मको अभ्यास गर्न बुद्धले सिकाउनुभयो । यो अनुभवजन्य मार्गको खोज बुद्धको मौलिक देन हो । बुद्ध निजी अनुभवद्वारा परम सत्यको बोध प्राप्त गर्न सिकाउनुहुन्छ । अन्य संगठित धर्ममा धेरै विकृति आइसकेका छन् । विगतका धर्म बौद्धिक धरातलमा टिक्न सकिरहेका छैनन् । पुराण, बाइबल र कुरानमा लेखिएका अनेक कुरा आधुनिक परिप्रेक्ष्यमा समय बाह्य भइसकेका छन् । तर बुद्धको दर्शन बौद्धिक धरातलमा आज पनि समसामयिक छ । कथा, मिथक र प्रतीकलाई तथ्य मानेर धर्मको सार तोडमरोड भइरहेको अवस्थामा दुःखबाट घेरिएको जीवनलाई गहन र सूक्ष्म तरिकाले अवलोकन गर्दै महासुख निर्वाणसम्मको धम्मयात्राको अभ्यास बुद्धको शिक्षणको सार हो ।

मैले ओशोको सन्देश लिएर देश विदेशको भ्रमणका क्रममा पूर्वीय धर्महरूको ठूलो प्रभाव पश्चिममा परेको देखिरहेको छु । एकतर्फ हिन्दु दर्शन योग, वेदान्त र उपनिषद्को प्रभाव परेको देखिन्छ भने अर्कोतर्फ बुद्ध धर्मको प्रभाव पनि खुबै परेको छ । तिब्बती, भियतनामी, थाई, बर्मेली र श्रीलंकाली बौद्ध गुरुका ठूलाठूला आश्रम स्थापित भएका छन् । यी बिहारमा पश्चिमाको पनि ठूलो जमघट देखिन्छ । यसको मूल स्रोत भने सिद्धार्थ गौतम बुद्ध नै हुन् । आदम र इभले गरेको पाप प्रायश्चित गर्न जिससमा विश्वास गरेमात्र सदाका लागि स्वर्गमा बास पाइन्छ भन्ने कुरामा विश्वास राखेमात्र इसाई हुन सकिन्छ । नत्र बेधर्मी भएर सधँै कहिल्यै मुक्ति नमिल्ने नर्कमा जलिरहनुपर्छ भन्ने इसाई धर्मको भनाई तर्क र बुद्धि टिक्न नसकेको बुझ्न सकिन्छ । म किन इशाई होइन भन्ने विश्वविख्यात पुस्तकका लेखक विद्वान् तथा गणितज्ञ वर्टान्ड रसेलले यही कुरा उठाएका छन् । मैले जीवनभर गरेको खुद्रा पापहरूका लागि कुनै अदालतले मलाई हदैको सजाय दिँदा पनि ३–४ वर्षसम्म दिन सक्ला तर ईश्वरले मलाई अनन्त कालसम्म नर्कमा जलाउला भन्ने कुरा तर्कसंगत छैन भन्दै यो धर्मका लागि व्यापार गर्नेको खेल हो भन्दै मलाई यस्तो धर्मको चक्कर पर्नु नै छैन भनेका छन् ।

उनका यस्ता विचारका कारण उनले न्युयोर्कमा प्रोफेसरको जागिर पाएनन् तर पछि न्युयोर्क पब्लिक लाइब्रेरीले उनको त्यो पुस्तक बीसौं शताब्दीका सबैभन्दा महत्वपूर्ण पुस्तकको लिस्टमा राखेको छ । तर तिनै नास्तिक रशेललाई गौतम बुद्ध भने वैज्ञानिक र तर्कसंगत लाग्छन् र उनले भनेका छन्, ‘धर्मवेत्ताको पायदानमा प्रज्ञाको हिसाबले म बुद्धलाई सबैभन्दा माथि राख्छु ।’ माक्र्सले धर्मलाई अफिम हो भन्नुपछाडि तर्क र विश्लेषण पन्छाएर सुरुमै विश्वास र आस्थाको माग गर्ने पश्चिममा फैलिएका तीन ठूला धर्म इसाई, यहुदी र इस्लाम धर्मको पृष्ठभूमिलाई लक्षित गरेको तथ्य बुझ्न सकिन्छ । तर बुद्धको दर्शन विश्लेषणात्मक धरातलमा टिक्न सक्ने कुरा माक्र्सले आफ्ना मित्रहरूलाई लेखेका थिए । पश्चिमी जगतका अर्का दार्शनिक एच.जी बेल्सले त बुद्धलाई ‘सो गडलाइक एन्ड सो गडलेस’ भने । एक सुन्दर ईश्वरीय गुणका व्यक्ति तर ईश्वर विरोधी ।

ओशोले बुद्धलाई धर्मको वैज्ञानिक भन्नुभएको छ । ओशोका अनुसार श्रद्धा र आस्थाको जरुरत छैन बुद्धस“ग यात्रा गर्न । समझ, बोध नै पर्याप्त छ । अनुभवबाट जे आउ“छ त्यो नै तिमी हौं । बाहिरबाट ल्याएको आस्थाको मूल्य नै के हुन सक्छ ? तिम्रो मोक्षको धारणामात्र शाब्दिक हुन्छ जबसम्म त्यसको स्वाद मिलेको छैन । बुद्धको धर्म सन्देहबाट सुरु हुन्छ तर परम् श्रद्धामा गएर समाप्त हुन्छ । तर बुद्धको यो सन्देहको भाषा यति नौलो र दुःसाहसपूर्ण थियो कि हिन्दुहरूले पनि बुझ्न सकेनन् । बुद्धले चलिआएको धर्मको सारा आधारलाई नै नष्ट गर्छन् भन्ने लागेर बुद्ध धर्म भारत र नेपालमा टिक्न सकेन, लखेटियो ।

२००७ सालसम्म नेपालमा पनि बौद्ध भिक्षुहरूलाई उत्तर या दक्षिण सीमा कटाइन्थ्यो । राणाहरुको पालामा बुद्ध धर्म राज्यद्वारा वर्जितकै स्थितिमा थियो । बुद्ध जन्मेको स्थान लुम्बिनीको मायादेवीको मन्दिरमा देवीलाई खुसी पार्न कुखुरा, बोका, राँगाको बली चढाइन्थ्यो भने त्यहाँ ब्राह्मण पुजारीको वर्चस्व थियो । त्यस्तै बोधगया मन्दिरको पनि त्यही हालत थियो । बुद्धको मूर्तिमा ढुंगासम्म हान्ने चलनै थियो । तर श्रीलंकाबाट तीर्थटनमा आएका भिक्षु धम्मपालले बुद्ध क्षेत्रहरूको यस्तो हालत देखेर बुद्धसँग सम्बन्धित तीर्थस्थलहरूको गौरव फर्काएरै छाड्ने संकल्प गरे र भारतमै बसेर लामो लडाइँ लडे । धम्मपालको धेरै वर्षको अनवरत संघर्षपछि बल्ल ती क्षेत्रमा बौद्धहरूले प्रवेश पाए र बुद्धस“ग जोडिएका ती स्थानले आफ्नै पहिचान बनाए ।

नेपालमा बुद्ध जन्मस्थल लुम्बिनीको कायाकल्पको सुरुआत भने संयुक्त राष्ट्र संघका महासचिव उथान्त आएपछि सुरु भएको हो । उनी शान्ति र पवित्रताका प्रतीक बुद्ध जन्मेको त्यो ऐतिहासिक स्थानमा बलीका नाममा निर्दोष जनावरको रगतको खोलो बगेको देखेर धुरुधुरु रोए । अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनी क्षेत्रको विकासका लागि सहयोगको आह्वान गरे । जापानका आर्किटेक्ट केंजो टांगेको मास्टर प्लानअन्तर्गत अहिले लुम्बिनी क्षेत्रको विकास कछुवा गतिमा भइरहेको छ ।

लुम्बिनीमा आज पनि ओशो जेतवन आश्रमबाहेक कुनै शाकाहारी भोजनालय छैन । सबै बौद्ध बिहारमा मांसाहारी भोजन पाक्छ । कुनै कथाका आधारमा बुद्धले मांसाहारको अनुमति दिनुभएको भन्ने तर्क दिइन्छ बौद्ध जगतमा मांसाहारको समर्थनमा । तर विशेष परिस्थितिबाहेक बुद्धको दर्शन मांसाहारस“ग मिल्छ भन्नु संवेदनहीनताको पराकष्ठा नै हो ।

आज विश्वमा ५० करोड बौद्ध छन् । लुम्बिनी विश्वभरका बौद्ध र एक अरब हिन्दुका लागि ठूलो तीर्थस्थल हो । हामीले बुद्धको जन्मथलो नेपाल हो भनेर अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उपाय भनेको लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलद्वारा विश्वस“ग जोड्ने, सुविधा र सुरक्षा बढाउने र विश्वभरका बौद्ध र बुद्धप्रेमीलाई धार्मिक पर्यटकका रूपमा नेपाल भिœयाउने नै हो । पृथ्वीको सबैभन्दा अग्लो शिखर सगरमाथा र चेतनाको शिखर बुद्ध जस्तो सम्पदालाई हामीले विश्वमा अझ व्यवस्थित तरिकाले पुर्याउन सक्यौं भने यो क्षेत्र नेपालकै आर्थिक विकासको मेरुदण्ड बन्न सक्छ । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनी धार्मिक पर्यटनको अनन्त सम्भावना बोकेका गन्तव्यस्थल हुन् ।

आजको बुद्ध पूर्णिमाको यो पावन दिन हामी तीन करोड नेपालीले यो संकल्प गर्नुपर्छ कि बुद्ध पूर्णिमाको दिनलाई संयुक्त राष्ट्र संघमा विश्व ध्यान दिवस (वल्र्ड मेडिटेसन डे) घोषणा गरियोस् । यो प्रस्ताव अरुले लानुभन्दा अगाडि नै नेपालले सशक्तरूपमा लानुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ जुनलाई विश्व योग दिवसका रूपमा विश्वभर स्थापित गरेर योगलाई सार्वलौकिक गरी भारतको गौरव र गरिमा बढाइदिनुभयो । त्यस्तै नेपालले बुद्ध पूर्णिमाको दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गरी नेपालको गौरव, गरिमा र बुद्धको पहिचान प्रतिष्ठित गर्नुपर्छ । यस दिशामा प्रयास गर्न नेपालका सबै राजनीतिकर्मी र बुद्धिजीवीसँग सविनय आग्रह छ ।

साभार : नागरिक दैनिक, २७ बैशाख २०७४

 

2 weeks ago/Thursday, May 11th, 2017/